नीर शाहलाई फाप्यो ‘परान’
अभिनेता नीर शाह अभिनित चलचित्र ‘परान’ले १७ करोड कलेक्शन पार गरेको छ । कार्तिक १४ गतेदेखि प्रदर्शनमा आएको उक्त चलचित्रले देशभित्र सो रकम बराबरको आम्दानी गरेको हो ।
पाँच दशक लामो करिअरमा शाहले सयौँ चलचित्रमा अभिनय गरेकोमा ‘परान’ले सर्वाधिक आम्दानी गरेको छ । चलचित्र विकास बोर्डका अनुसार ‘परान’का झण्डै ६ लाख टिकट बिक्री भएका छन् । अन्तराष्ट्रिय प्रतिलिपि अधिकार बिक्रीबाट चलचित्रको आम्दानी बढ्ने निर्माणको टिमको विश्वास छ ।
दिपकप्रसाद आचार्य (काकु)ले निर्देशक गरेको उक्त चलचित्रले सुरुवाती दिनमा राम्रो शो पाउन सकेको थिएन । तर, ‘वर्ड अफ माउथ’को कारण चलचित्रले दर्शकलाई हलसम्म तानेको हो । चलचित्रमा शाहसहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, अञ्जना बराइली, प्रविण खतिवडा लगायतको अभिनय छ ।
टिप्पणीहरू