जीप दुर्घटनामा ६ जनाको निधन, सैनिक हेलिकोप्टरले उद्धार गर्दै
कालिकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एक दर्जन घाइते भएका छन् ।
आज दिउँसो साढे २ बजे पलाता गाउँपालिका-३ स्थित राडुनेटामा क १ ज ५६ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै निधन भएको प्रहरीले जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर गौविन्द्र प्रसाद चौधरीका अनुसार दुर्घटनाग्रस्त जीपमा १९ जना सवार थिए । जसमध्ये ६ जनाको मृत्यु भएको र १३ जना घाइते रहेको उनले जानकारी दिए ।
‘६ जनाको डेथ भइसकेको छ’, इन्सपेक्टर चौधरीले जनआस्थासँग भने, ‘सामान्य घाइतेको नजिकैको अस्पतालमा उपचार भैरहेको छ । क्रिटिकल कन्डिशनका घाइतेहरुलाई सुर्खेत पठाउने तयारी छ । त्यसका लागि सेनाको हेलिकोप्टर आउदैछ ।’
पलाता गाउँपालिका वडा नम्बर-३ बाट वडा नम्बर-९ तर्फ जान लागेको जीप अचानक अनियन्त्रित भई सडकबाट तीन सय मिटर तल खसेको हो । नेपाल प्रहरी र सेनाको टोली घटनास्थल पुगेको छ ।
टिप्पणीहरू