वैद्यका नेता माओवादीमा मिसिए, उकालो लागेको प्रचण्डको दाबी
मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका आधा दर्जन नेता माओवादी केन्द्रमा मिसिएका छन् । केन्द्रीय सदस्य डा. थारु 'शेरमान' को नेतृत्वमा लुम्बिनी प्रदेशका पाँच नेता वैद्यलाई छोडेर आज माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवाश खुमलटारमा उनीहरुलाई खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । पार्टी प्रवेश गर्नेहरुमा क्रान्तिकारी कम्युनिष्ट पार्टीको लुम्बिनी प्रदेश सदस्यहरु वीरबहादुर बिक ‘संघर्ष’, तुकलाल पुन ‘यात्री’, माया थापा, नन्दकिशोर यादव र कपिलवस्तु जिल्ला सदस्य रामप्रसाद खनाल रहेका छन् ।
नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले विभाजनपछि शुरु भएको माओवादीको आरोलो यात्रा अब उकालो लाग्न शुरु भएको दाबी गर्नुभयो ।
‘जनयुद्ध, शान्ति प्रक्रिया र २०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी जनताको सबैभन्दा भरोसायोग्य र पहिलो पार्टी बनेको थियो’, उहाँले भन्नुभयो, ‘तर विभाजनपछि शुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न शुरु भएको छ, यो यात्रा रुपान्तरणसहित निरन्तर अघि बढ्ने छ ।’
जनताले माओवादी एकताबद्ध भएको देख्न चाहेको र त्यसको वातावरण पनि बन्दै गएको प्रचण्डको भनाई छ । पार्टी एकताका लागि माओवादी घटकहरुसँग छलफल भइरहेको र नेता कार्यकर्ताको स्वस्फूर्त ध्रुवीकरण पनि चलिहरहेको उल्लेख गर्दै उहाँले जनयुद्धको तयारी, जनयुद्धको सञ्चालन र शान्ति प्रक्रियाको पनि मुख्य नेतृत्व हुनुको हैसियतले आफूले सबैलाई गोलबन्द गर्दै अघि बढ्ने बताउनुभयो ।
जनयुद्ध लडेका कयौं नेता कार्यकर्ता क्रान्ति भइहाल्छ कि भनेर बिद्रोह गरेर गएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘क्रान्तिको खोजीमा निस्कनु तपाईहरुको गलत नियत थिएन तर क्रान्ति रहरले नभई एउटा प्रक्रियाले हुने भएकाले फेरि पनि क्रान्तिकारीहरुबीच ध्रुवीकरण र एकताको विकल्प छैन । सबै साथीहरु ढिलोचाँडो एक ठाउँमा हुने छौं, जनताले क्रान्तिप्रति गरेको विश्वास र सपना पूरा गर्न सबै मिलेर नयाँ प्रक्रियाबाट अघि बढ्ने छौं ।’
अहिले एकातिर माओवादी एकताको क्रम सुरु भएको र अर्कोतिर आफूले प्रधानमन्त्रीको रुपमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको पहलका लागि जनतामा माओवादी पार्टी र प्रचण्डप्रति विश्वास बढेको उल्लेख गर्दै उहाँले विभिन्न जिल्लाहरुमा जाँदा २०६४ कै झल्को आउने गरी जनआर्षण देखिन थालेको बताउनुभयो ।
टिप्पणीहरू