मन्त्रीविरुद्ध माननीयको स्ट्याटस छिनमै गायब

मन्त्रीविरुद्ध माननीयको स्ट्याटस छिनमै गायब
सुन्नुहोस्

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एउटा क्यासिनोलाई अनुमति दिएको र सोवापत करोडौं घुस लिएको आरोप सांसद राजेन्द्र बजगाईंले सामाजिक सञ्जालबाट मेटाएका छन् । गोरखाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका निर्वाचित साँसद तथा पर्यटन व्यवसायी राजेन्द्र बजागाईं आफ्नो दाबीमा एक दिन पनि टिक्न नसकेको पाइएको छ ।  

उनले अस्ति फेसबुक र ट्वीटरमा केही काँग्रेस नेतालाई समेत जोडेर आफ्नै पार्टीका मन्त्री पाण्डेमाथि गम्भीर आरोप लगाउँदै आरोप पोष्ट गरेका थिए । २४ घण्टा नबित्दै हिजो उक्त स्टाटस हटाएपछि उनले लगाएको आरोपमा खासै दम नभएको काँग्रेसीहरुको भनाई छ ।

सोही स्टाटसमा आधारित समाचार प्रकाशित भएपछि मन्त्री पाण्डेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलगायत केही राम्रा कामको थालनी गरेसङ्गै माफियाका मतियारहरु आफूविरुद्ध कपोलकल्पित आरोप लगाउन उद्यत रहेको प्रतिक्रिया दिएका थिए । उनले आफूले कुनै गलत कार्य गरेको प्रमाणित भएमा तत्काल राजनीतिक जीवनलाई तिलाञ्जली दिने प्रतिज्ञा गरेका छन् ।

भैरहवाको रोयल टाइगर रिक्रियसनले पनि मन्त्रीमाथि लगाइएको आरोप निराधार भएको बताइसकेको छ । वैदेशिक लगानी नेपाल भित्र्याउन नदिन पर्यटन क्षेत्रका केही माफियाले उक्त प्रचारबाजी गरेको ठहर रिक्रियसनको छ ।

बजगाईं आफैँ विवादित व्यवसायी हुन् । उनी विदेशमा कालो धन राख्ने ५५ नेपालीको सूचीमा परेको काँग्रेसीहरुको आरोप छ । उनी केही समयअघि मदिरा सेवनपछि प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिन गएका थिए । त्यसबेलाको बजगाईंको अन्तर्वार्ता भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

यता सांसद बजगाईंविरुद्ध कानुनी लडाईं लड्ने मन्त्रीको उद्घोषपछि पोष्ट हटाइएको अनुमान छ । मन्त्री पाण्डेले नैतिक बलका आधारमा कानूनी र नैतिक लडाईं लड्ने बताएका छन् । इमान्दार मान्छेहरुले नैतिकताको बाटोबाटै संघर्ष र प्रतिवाद गर्नसक्ने मन्त्रीको ठहर छ ।

टिप्पणीहरू