लोकतन्त्र मास्ने प्रयास पुनः हुनसक्ने प्रचण्डको आशंका
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान मिच्ने प्रवृत्तिलाई परास्त गर्न लोकतन्त्रवादी शक्तिहरु एकीकृत हुनुपर्नेमा जोड दिनुभएको छ ।
पछिल्लो समय समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको दाबी गर्दै उहाँले त्यसविरुद्ध गणतन्त्रवादीहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । विगतमा जस्तै संसद विघटन गरेर लोकतन्त्र मास्ने प्रयास हुनसक्ने आशंका गर्दै अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने प्रयास सफल हुन नदिने चेतावनी दिनुभयो ।
‘समाजमा अलि बढी अराजकतातिर, निरंकुशतातिर फर्काउने कसरतहरु कतै न कतै देखिएका छन् । हाम्रो अगाडि मैले जहिले पनि आज भोलि भन्ने गरेको कुरा के छ भने हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने हामीभित्रै कसैको मनशाय छ भने पनि त्यसलाई सफल हुन नदिनुपर्ने आवश्यकता छ’, आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो ।
संविधानको मर्म र भावनाविपरित संसद विघटन गरेर देशलाई फेरि एउटा भूमरीतर्फ लैजाने प्रयास विगतमा असफल पारेको उल्लेख गर्दै प्रचण्डले अहिले पनि प्रतिगमनतिर लैजाने कसरत सफल हुन नदिन सबै सतर्क हुनुपर्ने बताउनुभयो ।
’विगतमा पटक पटक संविधानको मर्म र भावना विपरित संसद विघटन गरेर देशलाई फेरि एउटा भुमरीतर्फ लैजाने प्रयासका विरुद्ध हामी लोकतन्त्रवादी, वामपन्थी मिलेर संघर्ष गरेर त्यसलाई असफल पारेको हो’, भन्नुभयो, ’अहिले पनि त्यो कोशिस कतैबाट हुन थाल्यो भने त्यसलाई रोक्न हामी सबै यो परिवर्तनका हिस्सेदारहरु, यो संविधानका पक्षधरहरु जो साँचो अर्थमा हृदयदेखि नै संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध थियौँ, छौँ । हामी कहीँ न कहीँ सजग हुनुपर्ने, सतर्क हुनुपर्ने आवश्यकता छ ।
अध्यक्ष प्रचण्डले संविधान संशोधनको बहसमा संविधानका पक्षधर शक्तिहरु गम्भीर हुन जरुरी रहेको पनि बताउनुभएको छ ।
टिप्पणीहरू