मामाको आडमा अनेकौं खेलोफड्कोमा रमाएका भाञ्जालाई क्रान्तिकारीको अल्टिमेटम
प्रभावशाली मामाको राजनीतिक शक्ति र पहुँचको आडमा भाञ्जाले कतिसम्म अटेरी गर्छन् भन्ने उदाहरण बनेका छन्, नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारी । नाताले मामा तथा एमाले महासचिव शंकर पोखरेलको आडमा उनले अदालतको आदेशसमेत अवज्ञा गरेको बताइन्छ ।
विश्वविद्यालयका पदाधिकारीलाई धम्याएको, कार्यकारी परिषद्को बैठकमा शिक्षाध्यक्षमाथि दुर्व्यवहार गरेकोलगायत आधा दर्जन आरोप लागेपछि गत असार २६ गते तत्कालीन उपकुलपति प्रा.डा यादव प्रकाश लामिछानेले अधिकारीलाई निलम्बन गरेका थिए । तर, उक्त निर्णय कार्यान्वयन हुन पाएन ।
राजनीतिक पहुँचका आधारमा विश्वविद्यालयमा ‘हालीमुहाली’ गर्दै आएका अधिकारीको निलम्बन कार्यान्वयन नभएपछि कात्तिक २५ गते उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भयो । न्यायाधीश सोमकान्त मैनालीको इजालसले २६ गते अन्तरिम आदेशमार्फत् विश्वविद्यालयको निर्णय सदर गरिदियो । तर, कुलसचिव अधिकारी भने पछि हट्न तयार देखिँदैनन् । उल्टै विश्वविद्यालयका प्राध्यापकहरुसँग ‘कसले के गर्न सक्छ ?’ भन्दै फूर्ती लगाउने गरेको सुनिएको छ ।
यता, उपकुलपति बन्ने ग्राण्ड डिजाइनसहित तत्कालीत उपकुलपति लामिछानेलाई राजीनामा दिन बाध्य पारेका अधिकारीको सपनामा आफ्नै शैक्षिक योग्यता बाधक बनेको छ । अहिले उनी कुलसचिवमै भए पनि चित्त बुझाउनेगरी भित्रि खेलोमेलोमा सक्रिय हुन थालेपछि अदालतको आदेश अलपत्र पर्ने स्थिति बनेको छ ।
यसैबीच प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले राजीनामा दिएर मार्गप्रशस्त गर्न अधिकारीलाई तीन दिनको अल्टिमेटम दिएको छ । कामचलाउ उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै उक्त समयभित्र माग सम्बोधन नभए आन्दोलन चर्काउने क्रान्तिकारीले जानकारी गराएको छ ।
ज्ञापन पत्रमा भनिएको छ, ‘विश्वविद्यालयका कार्यकारीले गरेका निर्णयहरुलाई उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश जारी गरेको र यो सँगै रजिष्ट्रारको निलम्बन पनि सदर देखिएको हुनाले निलम्बन पर्नुभएका कुलसचिवलाई नैतिकता देखाउदै मार्गप्रशस्त गर्न अनुरोध गर्दछौ ।’
अराजक गतिविधि गर्ने पदाधिकारीलाई कारबाहीको दायरमा ल्याउन गरिएको लिखित सहमतिलाई कार्यान्वयन गर्न उनीहरुले कामचलाउ उपकुलपतिको ध्यानाकर्षण पनि गराएका छन् । ‘हाम्रो माग तीन दिनभित्र सम्बोधन नभएमा हाम्रो आन्दोलनले अझै उग्ररुप लिने चेतावनी दिन चाहन्छौ’, पत्रमा भनिएको छ ।
कुलसचिव अधिकारीले अब राजीनामा दिनुबाहेक अर्को विकल्प नरहेको अखिल क्रान्तिकारीका एक नेताले जानकारी दिए । जनआस्थासँगको कुराकानीमा उनले भने, ‘कुलसचिवज्यूले आफ्नो नैतिकता ख्याल गरेर राजीनामा दिनुहुन्छ भन्ने हाम्रो आशा छ, उहाँले राजनीतिक शक्तिको धाकधम्की दिएर अटेर गर्नुभयो भने विश्वविद्यालयमा ताला लाग्नसक्छ, त्यसको जिम्मेवार कुलसचिवज्यू नै हुनुपर्नेछ ।’
टिप्पणीहरू