पुष्पकमललाई थाहा छैन ? प्रचण्डलाई नि !

पुष्पकमललाई थाहा छैन ? प्रचण्डलाई नि !

कुनै समय माओवादी केन्द्रले आँखा झिम्क्याएर इशारा गर्दा एकै पटक लाखौँ कार्यकर्ता शीरमा कफन बाँधेर मुक्तिका दर्बिला मुठी उठाउँदै सडकमा भेला हुन्थे । २०६३ सालमा जनयुद्ध त्यागेर शान्ति प्रकृयामा आएपछि माओवादी एकाध सरकार गठनबाहेक सबैमा सामेल भएको छ ।

०६४ सालको संविधानसभा निर्वाचनमा त माओवादी एक्लैले बहुमत ल्याएको थियो । यो बीचमा माओवादी नेताका छोराछोरी, शाखासन्तानलगायत धेरैले मतदाता नामावलीमा नाम दर्ता गराए । यसरी हिसाब गर्ने हो भने माओवादी मत ०६४ सालको निर्वाचनभन्दा धेरै बढ्नुपर्ने हो । तर किन मत हरेक निर्वाचनमा घट्दै गएको छ ? यसबारे मूल नेतृत्व अर्थात, खुमलटार किन चिन्तित छैन ? प्रचण्ड किन पुष्पकमल दाहाल बन्न लालायित छन् ? नेपालका खाँट्टी माओवादीहरु पार्टी बिग्रनु्मा प्रचण्ड होइन, पुष्पकमल दाहालको खतरा बढी छ भनिरहेका छन् ।

त्यसैले त हिजोका बाबुराम, बादल, वैद्य, विप्लव, धर्मेन्द्र, लेखराज, टोपबहादुर, मणी, प्रभु, आहुती, गोपाल किराँतीहरु अहिले यो पार्टीमा छैनन् । गत कात्तिक १० गते काठमाडौंको भृकुटीमण्डपमा सरकारविरुद्ध गरिएको खबरदारी सभामा पनि माओवादीले सोचे जति कार्यकर्ता (बीस हजार) उतार्न सकेन । डेढ वर्षअघि चार महिने रुपान्तरण अभियान सञ्चालन गरेको ऊ अझै रुपान्तरण हुन सकेको छैन । फेरि यसपालि सरकारविरुद्ध खबरदारी सभा गरेको छ । त्यो खबरदारी माओवादीले आफैँविरुद्ध गर्ने हिम्मत गर्नुपर्छ । सकिन्छ ?

सत्ताबाट बाहिरिएको करिव एक सय दिनपछि नेकपा (माओवादी केन्द्र)ले सडकबाट सत्ताधारी दल एमाले–कांग्रेसलाई खबरदारी गरेको हो । यसो त हनिमुन अवधि मनाएको संसदका ठूला दल कांग्रेस–एमालेको एकमनावादी सरकार स्वार्थपूर्ण तरिकाले निर्माण भएको जगजाहेर नै छ । गिरिबन्धु टी इस्टेट, ललिता निवासको जग्गा काण्ड र बाँसबारी छाला जुत्ता उद्योग हुँदै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको नाइके रहेका बेचन झालाई पक्राउ गरेपछि एमाले–कांग्रेसको गठजोड बनेको हो । यसअघिका प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस पनि सहभागी थियो । तर एकपछि अर्को गर्दै भ्रष्टाचारीहरु लगालग पक्राउ पर्न थालेपछि आतंकित बनेको कांग्रेसले सत्ताको काँध रातारात फेर्‍यो र एमालेलाई साथ दियो ।

अहिलेको सरकारले हनिमुन अवधि त पुरा गरेको छ तर जनतामा प्रत्यक्ष प्रभाव पार्ने नयाँ काम कुनै पनि गर्न सकेको छैन । प्रधानमन्त्री र उनको क्याबिनेटका मन्त्रीहरुले काम गर्ने कुनै मेलोमेसो र भेउ नै थाहा पाउन सकेका छैनन् । असोजमा आएको प्राकृतिक बिपत्ति र बाढी पहिरोमा परेर धेरै नेपालीको ज्यान गयो । धेरै घर बगे, डुबे । खेतीयोग्य जमिन र खेतबारीमा लगाइएका धानलगायतका अन्नबाली बाढीले सखाप पार्‍यो । काठमाडौं उपत्यकामै बाढीबाट आक्रान्त भएकाहरुले घण्टौँसम्म बचाऊ बचाऊ... भनेर गुहार माग्दा सुनिएन । सुरक्षाकर्मीहरु तत्काल खटाउन सकिएन । देशको राजधानी काठमाडौंको नागढुंगा नजिकै झ्याप्ले खोलाको पहिरोमा परेर गाडीमा यात्रा गरिरहेका ३० जनाभन्दा बढी नागरिकले ज्यान गुमाउनु पर्‍यो । यी घटनामा सरकारले समयै उद्धार र राहत उपलब्ध गराउन सकेन । बरु प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको कार्यक्रममा अमेरिका गएका बेला छिटो भ्रमण सकेर स्वदेश फर्किनुको सट्टा उतै घुमघाम र रामरमाइलोमा व्यस्त भए ।

भृकुटीमण्डपमा केही कार्यकर्ता भेला पारेर पीडा पोख्दैमा मन हलुका पार्नुबाहेक समाज रुपान्तरण हँुदैन कमरेड ! 

जापान सरकारले बनाइदिएको बीपी राजमार्गको अवस्था झनै नाजुक छ । यो राजमार्ग सरकार आफैंले बनाउने कि जापान सरकारलाई गुहार्ने भन्नेमा सरकार अझै अनिर्णित छ । बरु प्रधानमन्त्री ओली त कता कुन निकायमा आफ्नो दलका कार्यकर्ता भर्ति गर्न सकिन्छ भनेर बुद्धि लगाइरहेका छन् । उनी कसरी दलबीच भाँजो हाल्न र टुट फुट गर्न सकिन्छ भनेर अध्यादेश ल्याउने तरखरमा रातदिन नभनी भिडेका छन् । नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई कसरी हटाउन सकिएला भन्नेमा उनको सारा बलबुद्धि खर्चिएको देख्न सकिन्छ । कुलमानले विद्युतको बक्यौता नतिर्ने उद्योगीहरुको लाइन काटेपछि ओलीलाई १०४ डिग्री ज्वरो आएको छ ।

माओवादीले शुरु गरेको भ्रष्टाचारविरुद्धको अभियान ठीक थियो र यो राम्रो थियो । भ्रष्टाचार त कसैले पनि गर्नै हुन्न । भ्रष्टाचारविरुद्धको अभियानले निरन्तरता पाउनु पर्छ । तर पहिला माओवादी आफैंविरुद्ध शुद्धीकरण जरुरी छ । जनता माओवादीको पक्षमा छ । तर भ्रष्ट आचरण र प्रबृत्तिका कारण आफैं रक्षात्मक हुँदै गएको छ । त्यसैले माओवादीले पहिला आफंैविरुद्ध लड्डने हिम्मत गर्नुपर्छ । साँस्कृतिक अभियान नयाँ ढंगले शुरु गर्नुपर्छ । त्यसको भित्रभित्रै तयारी पनि भइरहेको छ । बेला बेलामा प्रचण्डको कार्यशैलीविरुद्ध बैठकमा हरिवोल गजुरेल, जनार्दन शर्माहरुले आवाज उठाइरहेका छन् । यसले निरन्तरता पाउनुपर्छ । प्रचण्डले बेला बेला बाँड्डने ललिपपमा यी आशालाग्दा नेताहरु भुल्नु हुँदैन ।

एकथरीले भन्ने गर्छन्, भृकुटीमण्डपमा केही कार्यकर्ता भेला पारेर पीडा पोख्दैमा मन हलुका पार्नुबाहेक समाज रुपान्तरण हुँदैन कमरेड ! समाज रुपान्तरणका निम्ति आर्थिक, सामाजिक, राजनीतिमा शुद्धीकरण ल्याउन जरुरी छ । प्रचण्डको नाम दिनको सात पटक जपेर उनीसँग सेल्फी खिची सामाजिक सञ्जालमा हालेर गुजारा चलाउनेहरुलाई प्रचण्डले चिनेका छन् । उनले ती तत्वहरुलाई खुमलटारभित्र छिर्ने मूलढोका बन्द गर्ने हिम्मत नगरेसम्म माओवादी पार्टी २०६४ सालमा फर्किन सक्दैन । आफू सत्तामा हुँदा दलाल, भ्रष्ट, कमिनखोर आदिको घेरामा रमाउने, उनीहरुको संरक्षण गर्ने र सत्ता गुमेको भोलिपल्टदेखि सुशासनको कडा नारा लगाउँदै गोहीका आँशु झारेजस्तो गर्नु नै जनताले आशा र भरोसा गरेको नेपालको कम्युनिष्ट आन्दोलन बिसर्जनको बाटोमा अग्रसर भएको कुरालाई ठोकुवा गर्न सकिन्छ ।

अर्को तथ्य के पनि हो भने पैसावाल कुलीन घराना पुँजीपति वर्गलाई माओको सिद्धान्त कुल्चिएर जथाभावी पार्टीमा भिœयाउने, पद बाँड्डने होडबाजीले श्रमजीवी, सर्वहारा वर्गले चाहेजस्तो सरकार कुनै पनि हालतमा निर्माण हुन सक्दैन । अहिले नेपालको कम्युनिष्ट आन्दोलनमा त्यही प्रबृत्ति हावी छ, जो नहुनु पर्ने थियो । श्रमजीवी, सर्वहारा वर्गको दल दिन प्रतिदिन यसरी खस्कँदो र अलोकप्रिय हुँदै जानुमा पुष्पकमललाई थाहा नभए पनि प्रचण्डलाई त पक्कै थाहा हुनुपर्ने हो ।

माओवादी पार्टीको यस्तै हविगत दोहोरिँदै जाने हो भने प्रचण्डलाई पुष्पकमलको खतरा छ । कम्तिमा जनयुद्ध लडेका जिउँदा जाग्दा मान्छेहरुले यहीँभित्र बसेर निरन्तर खबरदारी गरिरहनु पर्ने आवश्यकता देखिँदै आएको छ । यसका लागि अन्यत्र तितरबित्तर भएका पूर्व जनयुद्धकर्मीहरु सबै संगठित हुन समयले माग गरिरहेको छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू