भारत पलायन अपदस्थ प्रधानमन्त्रीलाई कारबाही गर्न ढाकामा तयारी

भारत पलायन अपदस्थ प्रधानमन्त्रीलाई कारबाही गर्न ढाकामा तयारी

बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले अपदस्थपछि भारत पलायन तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई स्वदेश ल्याएर छानबिन तथा अनुसन्धान थालिने बताएका छन् । सरकार गठनको एक सय दिन पुगेको उपलक्ष्यमा राष्ट्रको नाममा सम्बोधन गर्दै युनुुसले हसिनालाई बंगलादेश पठाइदिन भारतसँग आफ्नो सरकारले अनुरोध गर्ने जनाए । 

गत जुलाई–अगस्तमा बंगलादेशमा भएको उग्र विद्यार्थी आन्दोलनपछि राजीनामा दिएर हसिना एकाएक भारत पलायन भएकी हुन् । त्यसपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो । 

विद्यार्थी आन्दोलनमा सयौंको हताहतीप्रति हसिना र उनको सरकारलाई जिम्मेवार ठानिएको छ । उनीमाथि मानव अधिकार उल्लंघनको आरोपमा कारबाही गरिने दृढता अन्तरिम सरकार प्रमुख युनुसले व्यक्त गरेका छन् ।

हसिना र उनका सहयोगीहरूको गिरफ्तारीका लागि ‘रेड कर्नर’ नोटिस जारी गर्न बंगलादेशले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलसँग माग गरिसकेको छ । हसिनाविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा दायरको प्रक्रिया पनि अघि बढाइएको प्राप्त समाचारमा जनाइएको छ ।

टिप्पणीहरू