‘हरिबहादुरको जुत्ता’ ले जुराएको संयोग
वरिष्ठ कलाकार हरिवंश आचार्य र भारतीय गायक तथा अभिनेता मुरलीधरले वर्षौंपछि काठमाडौँमा भेट गरेका छन् । हिजो भएको उक्त भेट कति वर्षपछिको थियो ? न हरिवंशले ठम्याउन सके, न मुरलीधरले । जे भए पनि, दुवै जना अंकमाल गर्दै एकछिन् नोस्टाल्जिक बने ।
यी दुई भेट हुनुको कारण भने निर्माण हुन लागेको नयाँ चलचित्र ‘हरिबहादुरको जुत्ता’ हो । चलचित्रको मुख्य भिलेनको रुपमा मुरलीधर अनुबन्धित भएका छन् । चलचित्रका निर्माता सरोज वलीले हिजै लिखित सम्झौता गराएका थिए ।
त्यसो त, हरिवंश र मुरलीधीरबीच वर्षौ पुरानो सम्बन्ध भए पनि यसअघि एउटै चलचत्रिमा काम गर्ने मौका भने जुरेको थिएन । तर ‘हरिबहादुरको जुत्ता’ ले दुवैलाई एकैठाउँमा ल्याएको छ ।
हरिवंशसँग पहिलो पटक चलचित्रमा काम गर्न पाएकोमा मुरलीधरले खुशी व्यक्त गरे र हरिवंश पनि मुरलीधरको प्रशंसा गरेर थाकेनन् ।
यी दुईको पहिलो स्क्रिन सेयरले दर्शकलाई कत्तिको प्रभाव पार्छ ? त्यो हेर्न बाँकी छ । तर परिपक्व कलाकारको लाइनअपले चलचित्रको हाइप भने अवश्य बढाएको छ ।
चलचित्रका लागि हरिवंश, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की यसअघि नै अनुबन्धित भइसकेका छन् ।
टिप्पणीहरू