अदालतको आँगनमा विष पिउने महिला सोझै वीर अस्पताल

अदालतको आँगनमा विष पिउने महिला सोझै वीर अस्पताल
सुन्नुहोस्

उच्च अदालत पाटन परिसरमा आत्महत्याको प्रयास गरेकी महिलालाई वीर अस्पताल लैजान थालिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा अखिलका पूर्वअध्यक्ष ऐन महरद्वारा पीडित भनिएकी सुदूरपश्चिमकी ती विवाहित महिलालाई थप उपचारका लागि वीर लैजान लागिएको हो । 

बझाङका युवा नेता महरले आफूलाई बिहे गर्छु भनी लामो समयसम्म यौन शोषण गरेको आरोप लगाएकी उनी आज बिहान सुनुवाइका लागि अदालत पुगेकी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली देख्नेबित्तिकै विष सेवन गरेकी थिइन् । 

उनको हाल अल्का अस्पतालमा उपचार भइरहेको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए । ‘हाम्रो टोली सँधै अदालतमा ड्युटीरत हुन्छ । आज आफ्नो मुद्दाको सुनुवाइको लागि उहाँ मुखमा कालो दलेर,लुगामा नारा लेखेर उपस्थित हुनुभएको थियो । हाम्रो टोलीलाई देखेपछि उहाँ आत्तिनुभयो । हत्तपत्त विष झिकेर सेवन गर्नुभयो । हामीले तत्काल अल्का अस्पताल लग्यौं । त्यहाँबाट डाक्टरले वीर रिफर गर्नुभएको छ’,उनले भने । 

आफूमाथि यौन शोषण भएको उजुरीसहित पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष पटकपटक रुन बालकोट पुगेकी उनले आफ्ना कुरा सुनुवाइ नभएपछि साइबर ब्यूरो र अदालत गुहारेकी हुन् । उता, एमालेले महरमाथि लगाइएको निलम्बन फुकुवा गरी उपनिर्वाचनमा सघाउन बझाङ पठाएको छ ।

टिप्पणीहरू