दरबार मार्गमै फर्कियो एमाले
'जागरण सभा' का नाममा काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको सत्तारुढ नेकपा एमालेले कार्यक्रमस्थल परिवर्तन गरेको छ ।
पर्सि शुक्रबारका लागि भृकुटीमण्डपमा गर्ने तय भएको पूर्वनिर्धारित कार्यक्रम दरबार मार्ग सारिएको हो । जागरण सभा संयोजन समितिका संयोजक डा.राजन भट्टराईले सभास्थल परिवर्तन भएको जानकारी दिए । सभाअघि निस्कने जुलुस भने पूर्वनिर्धारित समय र स्थानबाटै शुरु हुने बताइएको छ ।
सरकारमा रहेर सडक संघर्ष गर्ने नयाँ अभ्यास थालनी गरेको एमालेले पछिल्ला केही वर्षयता यस्ता कार्यक्रमका लागि दरबार मार्ग रोज्दै आएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा उत्रिएका विपक्षीलाई काउन्टर दिन सरकारमै रहेर प्रदर्शन गरेको एमालेले त्यसबेला पनि नारायणहिटी अगाडि सभा गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनाअनुसार संविधान दिवसको अवसरमा सरकारीस्तरबाट आयोजित सांगीतिक कन्सर्ट पनि दरबार मार्गमै गरिएको थियो ।
अघिल्लो वर्ष दुर्गा प्रसाईंलाई काउन्टर दिन महेश बस्नेतको अगुवाइमा आन्दोलन गरेकै दिन पारेर शक्ति प्रदर्शन गर्न लागेको एमालेले एक लाख कार्यकर्ता सडकमा उतार्ने दाबी गर्दै आएको छ । सरकार र पार्टीविरुद्ध चौतर्फी घेराबन्दी भएको जनाउँदै पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले ५० हजार मान्छे उपस्थित गराउन निर्देशन दिएका थिए ।
टिप्पणीहरू