घुस खान खोज्ने वकिलसँग नाम मिल्दा अर्का वकिलको बदनाम
सहकारी ठगीमा जेल परेका ठूला अभियुक्त इच्छाराज तामाङ्गलाई धरौटीमा छाड्ने आश्वासन दिएर दुई करोडको सेटिङ मिलाउन उध्यत अधिवक्ता रुद्रप्रसाद पोखरेलमाथि गरिएको भनिएको कारबाही फुकुवा गर्दा नाम मिल्ने अर्का वकिलको हुर्मत लिने काम भएको छ । सर्वोच्च अदालतले अस्ति सबै अदालत,अस्थायी इजलास, फैसला कार्यान्वयन निर्देशनालयलाई गरेको परिपत्रमा पोखरेलको सट्टा नेपाल उल्लेख छ ।
अर्बौं सहकारी ठगीको आरोपमा जेल पुगेका बैंकर तथा घरजग्गा व्यवसायी इच्छाराज तामाङलाई छुटाउन पोखरेलले न्यायाधीशसङ्ग टेलिफोन सँवा गरेको प्रकरणले तीन बर्षअगाडि मुलुक हल्लाएको थियो । उनै पोखरेललाई सफाइ दिँदा उल्लेखित अधिवक्ताको प्रमाणपत्र नम्बर भने ५२४५ लेखियो जुन अर्का अधिवक्ता रुद्र नेपालको हो ।
नेपाल कानुन व्यवसायी परिषद्ले गत कात्तिक २७ गते पोख्रेललाई नसिहत दिएर मामिला राफसाफ पारेको जानकारी दिएकोमा सर्वोच्चले सोही आधारमा मातहतका निकायलाई अधिवक्ता नेपालको नाम हालेर सर्कुलर जारी गरेको थियोे । यसमा घोर आपत्ति जनाउँदै हिजो रुद्र नेपालले लेखेका छन्, ‘मर्यादाको धरोहर सम्मानित सर्वोच्च अदालत र नियमनकारी निकाय नेपाल कानुन व्यवसायी परिषदबाट भएको पत्राचारले मेरो व्यवसायिक मर्यादामा गम्भीर आघात पुर्याएको छ ।’
पोखरेलले काठमाडौं जिल्ला न्यायाधीश राजकुमार कोइरालासँग दुई करोड घुस डिल गरेको अडिओ सार्वजनिक भएको थियो । कोइराला र अधिवक्ता पोखरेलबीच दुई करोड घुस लिएर इच्छाराज तामाङलाई धरौटीमा छाड्ने भनिएको १० मीनेट लामो टेलिफोन अहिले पनि युट्युबमा सुन्न सकिन्छ ।
टिप्पणीहरू