छविको बयान कार्यालय प्रमुखको कार्यकक्षमा
सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डिआइजी छविलाल जोशीको बयान काठमाडौंमा लिइएको छ । पोखराबाट काठमाडौँ ल्याइएका जोशीलाई आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराएपछि बयान थालिएको बताइन्छ । उनको बयान कार्यालय प्रमुख सन्देश श्रेष्ठको कार्यकक्षमा भएको छ ।
जोशी तत्कालीन सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्कमा पोखराको सूर्य दर्शन, रुपन्देहीको सुप्रिम र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाट करोडौँ रकम गैर कानुनी ढंगले प्रवाह भएको प्रहरीको अनुसन्धानले देखाएको छ । कास्की र रुपन्देहीमा बयान दिइसकेका जोशीले स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा बयान दिएका हुन् ।
हाल कास्की प्रहरीको हिरासतमा रहेका जोशीका व्यावसायिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि काठमाडौँ ल्याउने प्रहरीको तयारी छ । स्वर्णलक्ष्मीको बचत अपचलनमा लामिछाने र जोशीसहित २१ जनाविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको छ ।
रवि र छविसँग यसअघि रुपन्देहीमा पनि बयान लिइएको थियो । त्यहाँको सुप्रिम सहकारीको रकम पनि गोर्खा मिडियामा पुर्याएर अपचलन गरेको उजुरी परेपछि अनुसन्धानका लागि प्रहरीले पोखराबाट भैरहवा पुर्याएको थियो ।
टिप्पणीहरू