विदेशी पाहुना कहाँ बस्ने ?

विदेशी पाहुना कहाँ बस्ने ?

विश्वका हरेक मुलुकमा विदेशी पाहुनालाई राख्न सुविधासम्पन्न सरकारी गेष्ट हाउसको व्यवस्था गरिएको हुन्छ तर नेपालमात्र यस्तो मुलुक हो, जहाँ भिभिआइपी वा भिआइपीलाई निजी तारे होटल सोल्टी, द्वारिका वा हायाततिर दौडाउनुपर्ने बाध्यता छ । यसअघि विदेशी पाहुनालाई राख्ने तयारी हुँदाहुँदै अन्तिममा रद्द भएको पुल्चोकस्थित मन्त्री क्वार्टरमा अब सर्वाेच्चका श्रीमान्हरू भेटिनेछन् ।

१० फागुन ०७९ को मन्त्रिपरिषद् बैठकले पुल्चोकबाट मन्त्रीहरूलाई भैँसेपाटीका क्वार्टरतिर सार्ने र सर्वोच्चका न्यायाधीश र मुख्य रजिष्ट्रारलाई रिक्त क्वार्टर दिने निर्णय गरेको थियो । सोहीबमोजिम संघीय सरकारका स्वास्थ्यमन्त्री प्रदीप पौडेलबाहेक सबै भैँसेपाटी सरिसकेका छन् भने मन्त्री क्वार्टरमा सर्वाेच्चका श्रीमान्हरू सर्ने क्रम जारी छ । अहिले कुमार रेग्मी क्वार्टरमा सरिसक्नुभएको छ । उहाँले डि फाइभ व्लक रोज्नुभएको छ भने केही दिनमै हरिप्रसाद फुयाँल पनि सर्दै हुनुहुन्छ । अहिले सर्वाेच्चमा १६ न्यायाधीश छन् । प्रधानन्यायाधीशका लागि बालुवाटारमै क्वार्टरको व्यवस्था छ ।

रणबहादुर बमको हत्यापछि न्यायाधीशको सुरक्षाका लागि भन्दै क्वार्टरको माग हुँदै आएको थियो । हरिकृष्ण कार्कीको प्रतिवेदनमा समेत न्यायपालिकाको विकृति एवम् विसंगति अन्त्य तथा विभिन्न भेषधारी दलाल र बिचौलिया नियन्त्रण गर्नसमेत न्यायाधीशलाई भिन्नै आवास सुविधा हुनुपर्ने औंल्याइएको थियो । सोही मागबमोजिम मन्त्री क्वार्टर न्यायाधीशहरूलाई उपलब्ध गराउन लागिएको हो ।

झण्डै ७२ रोपनीमा फैलिएको उक्त क्वार्टरमा १९ वटा ब्लक छन् । ०२८ मा बनेका क्वार्टर १४ वटा छन् भने ०५४ सालमा थप ५ वटा आवास गृह बनाइएको छ । यसअघि यो मन्त्री क्वार्टरको रेखदेख भौतिक पूर्वाधार मन्त्रालयले हेर्दै आएकोमा ०६९ सालमा मन्त्रालय फुटेसँगै मन्त्री क्वार्टरको रेखदेख शहरी विकास मन्त्रालयले गर्दै आएको छ । अब न्यायाधीशहरू त्यता सिफ्ट भएपछि सर्वाेच्च प्रशासनले नै रेखदेख गर्ने जनाइएको छ । त्यहाँ चार वटा भवन अलपत्र छन् । दुई तल्ला बनेर छोडिएको भवन कुन निकायले कसरी हेर्ने भन्नेस्पष्ट छैन ।

उता, भैंसेपाटीमा १ सय ४९ रोपनीमा फैलिएको मन्त्री आवास राष्ट्रिय सभा अध्यक्ष र उपसभामुखका अलावा संघीय मन्त्री, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि छुट्याइएका छन् । त्यहाँ २५ वटा क्वार्टरमा बन मन्त्री ए वान, संघीय मामिला ए टु, रक्षा मन्त्री ए थ्री, गृह मन्त्री ए फोर व्लकमा बस्न थालेका छन् । यस्तै उद्योग, वाणिज्य मन्त्रीलाई बी टु, कृषि मन्त्रीलाई बी फोर ब्लक उपलब्ध गराइएको छ । संस्कृति मन्त्रीलाई सी वान, परराष्ट्र मन्त्रीका लागि सी टु, कानुन मन्त्रीका लागि सी थ्री र अर्थ मन्त्रीलाई सी फोर व्लक दिइएको छ । उपसभामुखका लागि डी वान, राष्ट्रिय सभा अध्यक्षलाई डी टु व्लक मिलाइएको छ ।

यस्तै, शहरी मन्त्रीका लागि इ वान, खानेपानी मन्त्रीलाई इ टु, शिक्षा मन्त्रीलाई इ थ्री ब्लकमा सारिँदा उर्जा मन्त्रीलाई एफ वान, भौतिक मन्त्रीका लागि एफ टु, सञ्चारमन्त्री एफ फोर व्लकमा बस्नेछन् । भूमिका लागि जी वान, श्रम जी टु, महिला मन्त्रीका लागि जी थ्री र युवा तथा खेलकुद मन्त्रीलाई पुल्चोकबाट जी फोर व्लकमा सारिंदा स्वास्थ्य मन्त्रीका लागि इ फोर व्लक छुट्टाएर राखिएको छ । सरकारले विशिष्ट व्यक्ति (भिआइपी) र अति विशिष्ट व्यक्ति (भिभिआइपी)का लागि आवास बनाउँदा बितेको चार वर्षमा राज्यकोषबाट पौनै १२ अर्ब रुपैयाँ खर्च भइसकेको हिसाब किताब छ ।

आन्तरिक सजावटमा २ अर्ब ८९ करोड ६७ लाख २६ हजार रुपैयाँ र परामर्शतर्फ ३ करोड ५१ लाख १८ हजार रुपैयाँको खोलो बगाइएको हिसाब निकालिएको छ । यस अलावा प्रदेशका मुख्यमन्त्री र प्रमुखको आवासका लागि मात्र संघीय सरकारले वार्षिक ९४ लाख खर्च गर्दै आएको छ । यसरी मन्त्रीहरू पुल्चोकबाट भैंसेपाटी सिफ्ट हुँदा अधिकांशले सिरक डस्ना र किचनको सामग्री बोकेर उता लगेका छन् भने उद्योग, अर्थ र भूमि मन्त्रीले पुल्चोक क्वार्टरमा रहेको सोफा सेट नै भैंसेपाटीतिर सारेका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू