मागपत्र बोकेर सिंहदरबार पुग्दा गलामा खादा
नेपालीमा एउटा उखान छ,‘कहीँ नभएको जात्रा हाँडीगाउँमा ।’ शहरी विकास मन्त्रालयमा आज दिउँसो त्यस्तै दृश्य देखियो । मागपत्र बुझाउन गएको फोटो पत्रकारहरुको टोलीलाई उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले उल्टै खादा लगाएर सम्मान गर्नुभएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) का एक दर्जन प्रतिनिधि ध्यानाकर्षण पत्र लिएर मन्त्री सिंहलाई भेट्न सिंहदरबार पुगेका थिए । संस्थाका अध्यक्ष प्रदीपराज वन्तले उहाँसँग भेटेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्, ‘धन्यवाद !! उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहज्यू, बधाई, शुभकामना तथा भेटवार्ताको लागि ! उक्त अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको तर्फबाट सरकारलाई विभिन्न माग राखि संस्थाको विकासका लागि उपप्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको छ ।’
सेयर गरिएको तस्बिरमा सबैले खादा लगाएका छन् । ध्यानाकर्षण पत्र बुझाउँदासम्म खादा नपहिरिएको टोलीले सम्मानपछि उपप्रधानमन्त्री सिंहसँग सामूहिक तस्बिर खिचाएको हो ।
टिप्पणीहरू