पिजी चिकित्सकलाई भत्ता दिने निर्णयको स्वागत
चिकित्सा शिक्षाअन्तर्गत स्नातकोत्तर (पिजी)को एमडी–एमएस अध्ययन गर्ने आवासीय चिकित्सकलाई आठौं तहका मेडिकल अफिसरसरह निर्वाह भत्ता दिने निर्णयको डाक्टरहरुले स्वागत गरेका छन् ।
नेपाल चिकित्सक संघले आज विज्ञप्ति जारी गर्दै आयोगको उक्त निर्णय स्वागतयोग्य रहेको जनाउँदै कार्यान्वयन गर्न अनुरोध गरेको हो । आयोगले केही दिनअघि आवासीय चिकित्सकलाई सरकारी सेवाका आठौं तहका मेडिकल अफिसर सरह मासिक ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको थियो।
संघले भनेको छ, ‘पिजी अध्ययनरत आवासीय चिकित्सकहरु कक्षामा बसेर पढ्ने सामान्य विद्यार्थी जस्तो नभई अस्पतालमा दिनरात काम गरेर अभ्यासद्धारा सीप हासिल गर्ने जनशक्ति भएकाले सो काम गरेबापत निर्वाह भत्ता आठौं तहका मेडिकल अफिसर सरह नै हुनुपर्ने कुरामा संघको अडान रहेको छ ।’
यसका साथै चिकित्सकहरुले अध्ययनको लागि छुट्टै २३ लाख शुल्क तिर्नुपर्ने तर बस्नका लागि आवास पनि नपाउने वर्तमान परिस्थितिमा निर्वाह भत्ता जीविकाको लागि अनिवार्य रहेको संघको ठम्याई छ ।
‘स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा चरम तनावका बाबजुद अहोरात्र सेवामा खटिने पिजी अध्ययनरत चिकित्सकहरुलाई कामअनुसारको भत्ता उपलब्ध नगराउनुले उनीहरुमाथि ठुलो अन्याय हुने संघको ठहर छ । त्यसैले, चिकित्सा शिक्षा आयोगको उक्त निर्णय कार्यान्वयन गर्न संघ हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू