केपी ओलीविरुद्ध लेखेको भन्दै माननीयमाथि कारवाही
पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा नेकपा एमालेका एक प्रदेश सांसद कारबाहीमा परेका छन् ।
बाँके १(ख) बाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद दुर्गाप्रसाद चौधरीलाई एमालेले पार्टी सदस्यताबाट निलम्बन गरेको हो । उनीमाथि अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको मानहानी हुने सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेको आरोप लगाइएको छ ।
त्यस्तै, पार्टीको मूल्य मान्यताविपरीत सार्वजनिक रुपमा गालीगलौज गरेको, पार्टीविरुद्ध समाचार लेख्न लगाएकोजस्ता आरोप पनि थोपरिएको छ । एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले चौधरीलाई अनुशासनको कारवाही गरेको बताए ।
पार्टीको नेतृत्व र कार्यकर्ताविरुद्ध प्रकाशित सामग्रीलाई लिएर शुरुमा उनलाई स्पष्टीकरण सोधिएको थियो । तर, आफ्नो गल्ती महसुश गर्नुको साटो उल्टै पार्टीविरुद्ध लिखित जवाफ दिएकाले विधानको धारा ८१ को उपधारा (७) बमोजिम अनुशासनको कारबाही गरिएको गुरुङले जानकारी दिए ।
माओवादी छोडेर एमालेमा लागेका चौधरी लुम्बिनी प्रदेशका पूर्व वन तथा वातावरणमन्त्री पनि हुन् ।
टिप्पणीहरू