किन पुलिसहरु राजधानी पस्दैनन् ?
सरकारी सेवाका धेरैलाई राजधानी काठमाडौंमा टिक्ने रहर देखिए पनि एकथरीचाहिँ बाहिरै बस्न रुचाउँछन् । यस्तो रुचि राख्नेमा सिपाहीदेखि जुनियर अफिसर दर्जासम्मका प्रहरीहरू छन् । प्रहरीको काठमाडौं उपत्यकामा चार हजारभन्दा बढी दरबन्दी रिक्त रहे पनि सरुवा मागेर आउनेहरूले देखाउने अनिच्छाको विश्लेषण हुन थालेको छ ।
तीमध्ये एक कारण हो– डेरा भाडा अत्यन्तै महँगो हुनु । २४/२५ हजार तलब खानेले ७ हजारभन्दा बढी त एउटा कोठाकै भाडा तिर्नु पर्ने हुन्छ । व्यारेकमा बस्नलाई सामान्य जीवन सुहाउँदो सुविधा पनि छैन । जहान र बच्चाबच्चीलाई सँगै राख्ने र हेरचाह गर्ने अवस्था हुँदैन । नाता र साथीभाइ आउँदा बास बस्न दिने ठाउँ र खान्तेपिन्तेको ठूलो समस्या छ । अर्कोतर्फ सन्तान हुनेलाई कोठा भाडा पाउन पनि मुश्किल छ । बिजुली, पानी र शौचालयजस्ता समस्या र खर्चको चाङ यसै मेसोमा थपिन्छ ।
केटाकेटीको पढाइ र स्कुलको तारतम्य मिलाउन निकै हम्मे हुन्छ । अर्को कारण ड्युटी आवर देखिएको छ । काठमाडौं उपत्यकामा ड्युटी आवर जिल्लाको तुलनामा बढी नै हुने गरेको छ । तर सुविधा फरक छैन । यहाँ खटिनेले कम्तीमा प्रतिदिन १४ घण्टा यहाँ खटिनुपर्ने हुन्छ । जसोतसो खटिँदा पनि सबैको गाली खाने तिनै तल्ला तहका सिपाही र नन गजेटेडेड अफिसरहरू हुन्छन् । त्यसैले काठमाडौंका सिपाही एकअर्कालाई कहिलेकाहीँ नर्कको राजा भन्दै खिसी गरेका पनि भेटिन्छन् ।
त्यसो त काठमाडौंमा अवसर पनि छ । प्रत्येक दिन नयाँ कुरा सिक्ने, संसारभरिका नयाँ मान्छे भेट्ने, नयाँ काम पाइने मौका हुन्छ । तर पनि सिपाहीहरू काठमाडौंमा सरुवा माग्न रुचि नराख्नुका पछि मुख्य रुपमा आर्थिक कारण नै भएको दाबी गरिन्छ । अहिले नेपाल प्रहरीमा ८९ हजार ५ सय ४१ जनाको दरबन्दी छ । जसमध्ये पिपालगायत अनुत्पादक रुपमा भएको जनशक्ति भने तीन सयभन्दा कम छ । पिएसओ १३ सय हाराहारीमा छन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू