दुर्गा प्रसाईंको रिट खारेज,थुनामै राख्ने आदेश
राजावादी अभियन्ता तथा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिट खारेजीसँगै निर्देशनात्मक आदेश जारी गरेको हो ।
उक्त आदेशको कपी भने आइनसकेको सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले बताए । ‘उहाँको उपचारलाई लिएर इस्यु थियो । अदालतले उहाँको रिट खारेजीसँगै निर्देशनात्मक आदेश जारी गरेको छ । भोलि आदेशको कपी आइसकेपछि मात्र के उल्लेख छ भन्ने थाहा हुन्छ’,उनले भने ।
सर्वोच्चको यो आदेशपछि उनी थुनामै रहने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईं सिंहदरबार प्रहरी वृत्तको हिरासतमा छन् । उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै छोरा निराजन प्रसाईंले मंसिर ७ गते बन्दी प्रत्येक्षीकरणको रिट दायर गरेका थिए ।
प्रधानमन्त्री ओलीले कम्बोडियाको स्मार्ट एजियटामा ३२ अर्ब रुपैयाँ लगानी गरेको भन्दै ‘फेक डकुमेण्ट’ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका उनीविरुद्ध विद्युतीय कारोबार,कागजात किर्ते र मानहानीको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू