टेम्पो यातायात : एकातिर राहत, अर्कातिर आहत
छिटो–छरितो र सुविधा खोज्नु आममानिसको स्वभाव नै हो । हरेक व्यक्तिले आफ्नो दैनिकी सहज बनाउन चाहन्छन् । पैसा तिरेपछि राम्रै सुविधाको उपभोग गरौं भन्ने चाहना सबैलाई हुन्छ । तर, मुलुकमा सञ्चालित सार्वजनिक यातायातको सेवाबाट सर्वसाधारण सन्तुष्ट छैनन् ।
राम्रो सेवा त धेरै टाढाको कुरा, सर्वसाधारणले आवश्यक परेको बेला सहज रुपमा सार्वजनिक यातायातको सामान्य सुविधान पनि पाउँदैनन् । काठमाडौं उपत्यकाभित्रै बिहान र बेलुकी सार्वजनिक यातायातका साधन पाउन महाभारत हुने गरेको छ । सार्वजनिक यातायात चढ्नकै लागि सर्वसाधारणले अनेकौं हण्डरठक्कर भोग्नुपर्छ ।
सरकार सार्वजनिक यातायातलाई व्यवस्थित र भरपर्दो बनाउन चुकेको छ । सार्वजनिक यातायातको सेवाप्रति सर्वसाधारण सँधै गुनासो गरिरहेका हुन्छन् । भित्री सडकमा त झन् गाडी नै पाइँदैन । सोही कारण सर्वसाधारण मँहगो शुल्क तिरेर ट्याक्सी चढ्न बाध्य छन् । सरकारले सर्वसाधारणलाई विकल्प पनि दिएको देखिँदैन ।
चढे मँहगो शुल्क तिरेर चढ, नत्र पैदल हिँडको अवस्था विद्यमान छ । सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै भक्तपुरको चाँगुनारायण नगरपालिकाभित्र हुटवाला टेम्पो सञ्चालन गरिएको छ । तीन वटा समितिमार्फत् झण्डै तीन दर्जन टेम्पो सञ्चालनमा आएको छ ।
ती टेम्पो सञ्चालन कम्पनी काभ्रेपलाञ्चोकको बनेपामा रहेको चालकहरु बताउँछन् । उनीहरुका अनुसार दैनिक चारदेखि पाँच हजार रुपैयाँ आम्दानी हुन्छ । टेम्पो पालोमा चलाउने गरिएको छ । नगरपालिकाभित्रको सबैजसो स्थानमा टेम्पो सुविधा पुर्याइएको छ । तीन जना मात्र चढ्न मिल्ने भएपनि चालकले पाँच जना राख्ने गरेका छन् । पछाडि तीन जना र चालकको छेउमा दुई जना बस्छन् ।
दिनभर यात्रु ल्याउने र लैजाने क्रम चलिरहेको देखिन्छ । टेम्पो चढ्न यात्रुको लाम लाग्छ । टेम्पो चढ्नेबित्तिकै यात्रुले ५० रुपैयाँ तिर्नुपर्छ । कालो प्लेट भएका ती टेम्पोमा मीटर जडान गरिएको छैन । नगरपालिकाको प्रशासन हेर्ने शाखा अधिकृत सुरज पौडेलका अनुसार ती टेम्पो दुवाकोट, झौंखेल, छालिङ हुँदै विभिन्न स्थानमा जाने गरेको छ ।
टेम्पो सञ्चालनका लागि नगरपालिकाले कार्यविधि बनाउने तयारी गरिरहेको उनले जानकारी दिए । यातायातको असुविधा भएकाले टेम्पो सञ्चालन गर्न अनुमति दिइएको पौडेलको जिकिर छ । ‘अहिले तीनवटा समिति छ । हामीले कार्यविधि बनाएर टेम्पो सञ्चालन गर्ने तयारी गरिरहेका छौं । कोही टेम्पो चलाउन चाहनुहुन्छ भने हामी यातायातमा सिफारिस गरिदिन्छौं । भाडादरचाँहि तोकिएको छैन । कार्यविधि बनेपछि सबैलाई सहज हुन्छ’,उनले भने ।
टेम्पोको कारण नगरबासीलाई निकै राहत भएको छ । बसबाट झरेर घण्टौं हिँड्नुपर्ने बाध्यता हटेको स्थानीय बताउँछन् । तर, चर्को भाडाका कारण आहत पुगेको भन्दै गुनासो गरेका छन् । चढ्नेबित्तिकै ५० रुपैयाँ तिर्नुपर्दा यात्रु मर्कामा परेका हुन् । यात्रु निता गिरी टेम्पोले समयको बचत गरिदिएको बताउँछिन् । टेम्पो सञ्चालन हुँदा नगरबासीलाई निकै सहज भएको उनको भनाइ छ ।
‘टेम्पो सञ्चालन भएर हामीलाई निकै राहत भएको छ । पहिलेपहिले सामान बोकेर टाढाटाढासम्म हिँड्नुपर्थ्यो । अहिले टेम्पोले पुर्याइदिन्छ । टेम्पोको सुविधादेखि नगरबासी हर्षित हुनुभएको छ । भाडा अलिक मँहगो भयो भन्ने गुनासो छ । भाडाचाँहि किलोमीटरअनुसार तोकिदिए राम्रो हुनेथियो’,उनले भनिन् ।
त्यसैगरी, स्थानीय आयुशा दुवालले टेम्पोको भाडा तय गरिदिए यात्रु अझै खुशी हुने बताइन् । ‘टेम्पो चलेपछि स्थानीयलाई सहज भएको छ । यहाँ हत्तपत्त ट्याक्सी पाइँदैन । पाइहालेपनि छोटो दूरीका लागि मँहगो भाडा तिर्नुपर्ने बाध्यता छ । हतारमा टेम्पो चढ्न सकिन्छ । बालबच्चा भएकालाई पनि सहज भएको छ । भाडादर तय गरिदिने हो स्थानीय अझै खुशी हुने थिए । भाडाचाँहि किलोमीटरअनुसार तोकिनुपर्ने हो’,उनले सुनाइन् ।
चाँगुनारायणपछि गोकर्णेश्वर नगरपालिकाभित्र पनि त्यस्तै टेम्पो चल्न थालेको छ । तर, नगरपालिकाले टेम्पो सञ्चालनका निम्ति इजाजत दिएको छैन । टेम्पोको संख्या बढेमा कार्यविधि बनाउने नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदी बताउँछन् । भन्छन्,‘हामीले टेम्पो सञ्चालनका लागि अनुमति दिएका छैनौं । तर, उहाँहरुले चलाइराख्नुभएको छ । अहिले न्यून संख्यामा छ । संख्या बढ्यो भने कार्यविधि बनाउँछौं ।’
काठमाडौंको कलंकी र भक्तपुरको सिरुटारमा पनि त्यस्तो टेम्पो देखिन थालेको छ । सरकारले सार्वजनिक यातायातको नयाँ दर्ता नखोलिदिँदा समितिमार्फत टेम्पो चलाउन थालिएको हो । तर, ती अर्को ‘पठाओ’ बन्न सक्ने जानकारहरु बताउँछन् । नेपालमा पठाओ सञ्चालन भएको लामो समय बितिसकेको छ । सरकारले अझैंपनि पठाओलाई कानुनको दायरामा ल्याउन सकेको छैन ।
पठाओबाट न सरकारले कर उठाउन सकेको छ, न भाडा तोक्न सकेको छ । हतारमा गाडी खोज्दै भौंतारिनु नपर्ने भएकाले यात्रुहरु भाडा महँगो भएपनि पठाओ चढ्छन् । कम्पनीले राम्रै कमाइरहेको छ भने राज्य अलमलमा देखिन्छ ।
चालकहरुले आफूखुशी भाडा उठाइरहेको अवस्थालाई सरकारले नियमकानुनको दायरामा ल्याएमा सर्वसाधारणलाई राहत हुने देखिन्छ । साथै राज्यको ढुकुटीमा राजश्व पनि जम्मा हुने निश्चित छ । यता, बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले यस विषयमा विचार गर्ने बताएको छ ।
यातायात अभियन्ता रामबहादुर थापा टेम्पो सञ्चालन हुनु निकै सकारात्मक भएको बताउँछन् । यसले स्वदेशमै रोजगारीको अवसर सिर्जना गरेको उनको जिकिर छ । अन्य स्थानीय पालिकाले पनि टेम्पो सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । त्यस्तै, उनले मीटर जडान गरेर किलोमीटरअनुसार भाडा तोकिनुपर्ने बताए ।
थापा भन्छन्,‘नागरिकले विकल्प पाउनुपर्छ । सक्नेले ट्याक्सी चढ्छन्, नसक्नेले टेम्पो । यसले यात्रुलाई सहज हुन्छ भने देशमै केही गर्छु भन्नेले पनि रोजगारी पाए । सरोकारवालाले मीटर जडान गरेर किलोमिटरअनुसार भाडादर तोकिएदिए अझै राम्रो हुन्थ्यो । अन्य नगरपालिकाले पनि टेम्पो सञ्चालनमा ल्याउनुपर्छ । यसले ट्याक्सी व्यवसायीले लगाइरहेको सिण्डिकेटलाई पनि कमजोर बनाउँछ ।’
टिप्पणीहरू