मन्त्रीकै क्षेत्रमा नापीका कर्मचारी अवैध असुलीमा व्यस्त

मन्त्रीकै क्षेत्रमा नापीका कर्मचारी अवैध असुलीमा व्यस्त
सुन्नुहोस्

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्रीकै क्षेत्रमा नापीका कर्मचारीहरुले अवैध असुली धन्दा चलाएपछि सर्वसाधारणले आपत्ति जनाएका छन् । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित मन्त्री बलराम अधिकारीकै क्षेत्रको मायादेवी गाउँपालिकामा नापी कर्मचारीले अवैध रकम असुलेको स्थानीयको आरोप छ ।

नापी कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिकाको जग्गा व्यवस्थापन अन्तर्गत त्यहाँ रहेको गाउँ ब्लकको जग्गा नाप नक्सा गरेर पुर्जा बनाउन टोली खटाएको थियो । टोलीले अस्थायी कार्यालय मार्फत् काम गर्दै आएको छ । तर, खटिएका नापी कर्मचारीले सेवाग्राहीहरुसँग प्रतिकित्ता १ सय ५० रुपैयाँको दरले रकम असुल्दै आएको गुनासो गरेका छन् । स्थानीय सञ्चारकर्मीहरुले समेत सेवाग्राहीहरुसँग रकम असुलेको देखिएको बताएका छन् ।

टोली प्रमुख अमिन प्रदीप मण्डलको नेतृत्वमा रहेका कर्मचारीले बिनारसिद प्रतिकित्ता १५० रुपैयाँको दरले लिएको पीडित सेवाग्राहीहरुले बताए । मायादेवी २ का धर्मराज कलवारले कर्मचारीले हाकाहाकी रकम मागेको गुनासो पोखे । ‘मैले प्रति कित्ताको दरले रकम बुझाएँ तर रसिद पाइएन’ उनले भने, ‘हामीले भोट दिएर मन्त्री बनायौं, उहाँकै क्षेत्रमा कर्मचारीले घुस लिन्छन् हामी के बोल्ने ?’ कलवारले भने । 

मायादेवी २ का लालबहादुर यादवले पनि ४५० रुपैयाँ घुस दिएको बताए । ‘मेरो तीन कित्ता थियो, नदिएसम्म निवेदनमा तोक लगाएनन् । त्यसपछि  बाध्य भएर दिएँ,’ उनले भने । निवेदन तथा दर्तामा खटिएका नापी कर्मचारी रामकृष्ण यादव, मोतिलाल साह, नितेश मण्डल, रामनिवास केवट, सन्तोष थारुलगायत उक्त कार्यमा संलग्न रहेको बताइन्छ । 

कर्मचारीहरुले विभिन्न कारण देखाउँदै रकम लिन थालेपछि आफूले चासो राखेको गाउँपालिका अध्यक्षको भनाई छ । पालिका अध्यक्ष बलिउद्धिन मुसलमानले सेवाग्राहीलाई अनावश्यक दुःख नदिन र अवैध रकम लिएको पाइए कारबाही गर्ने धम्की दिएपछि उक्त कार्य रोकिएको बताइन्छ । 

यसबारे टोली प्रमुख मण्डलले निवेदन शुल्क लिएको हुनसक्ने बताए । ‘बाहिर निवेदन लेख्नेहरुले लिएको हुन सक्छ, कर्मचारीले लिएको छैन,’ दाबीका साथ उनले भने । आफ्नै जिल्लाका भूमिहीन गाउँब्लक पीडितसँग कर्मचारीले घुस लिएको गुनासो मन्त्रीको सचिवालयमा जानकारी गराए पनि कुनै कारवाही नभएको मायादेवी १ का वडाध्यक्ष इसहाक मुसलमानको दुःखेसो छ ।

टिप्पणीहरू