हरिहर भवनमा आधा करोड भ्रष्टाचारकाे आशंका
ललितपुरको हरिहर भवनस्थित पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालयका तत्कालीन कार्यक्रम निर्देशक डा.बलराम थापा क्षेत्री भ्रष्टाचारमा तानिएका छन् । उनीसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
निर्देशनालयका लेखा अधिकृत रामप्रसाद बजगाइँ, पशु विकास अधिकृत डा.पूजा शर्मा, जिल्ला पशु सेवा कार्यालय, अछामका पशु विकास अधिकृत विश्वेश्वरप्रसाद खनाल, हिल साइड पोलिटेक्निक इन्स्च्यिुटका अध्यक्ष लोकबहादुर बोहरा, व्यवस्थापक सुरतबहादुर भुल, पुष्कर भण्डारी र सो कम्पनीविरुद्ध पनि मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।
अछामको साँफेबगर नगरपालिका वडा नम्बर ७, स्थित आर्थिक वर्ष २०७३–०७४ मा पशु हाट बजार निर्माण तथा सुधार कार्यक्रमअन्तर्गत पशु हाट निर्माणका लागि निर्देशनालय र हिलसाइडबीच भएको थियो । सम्झौतामा काम सम्पन्न गरी मात्र अनुदान रकम भुक्तानी दिने भनिएकोमा सोविपरीत गरिएको अख्तियारको ठहर छ । अख्तियारका अनुसार अनुगमनको क्रममा हिलसाइडद्वारा निर्मित पशु हाटबजार सञ्चालनमा नरहेको पाइएको छ ।
उक्त पशु हाटबजार परिसर जग्गा धनी आफैंले नियन्त्रणमा लिई भाडामा दिएको भेटिएको हो । साथै, संरचना निर्माणको स्थलगत नापजाँच गर्दा नापी किताबका केही आइटमको काम नभएको, कम काम भई बढी मूल्याङ्कन गरी भुक्तानी दिइएको अख्तियारले दाबी गरेको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम ४४ लाख ४२ हजार ८६१ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना सजाय हुन मागदाबीसहित उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
टिप्पणीहरू