विष्णुदेवी जात्रा शुरु

विष्णुदेवी जात्रा शुरु

राजधानीको दक्षिणपश्चिम क्षेत्रको प्रमुख जात्रामध्ये विष्णुदेवी जात्रा शुरु भएको छ । प्रत्येक वर्ष मंसिर शुक्ल अष्टमीका दिन शुरु हुने यो जात्रा द्वादशीसम्म जारी हुन्छ ।  

नवमीका दिन विष्णुदेवीको मूर्तिलाई खटमा राखेर स्थानीय वैष्णवी देवीको मन्दिरमा लगेर पूजा गर्ने चलन छ । तीनथानास्थित वैष्णवी देवीको मन्दिरमा राँगाको बलि दिएर विधिपूर्वक शुरु भएको जात्राअन्तर्गत बिहानै द्वारपालमा पूजा गरिएको छ । 

त्यसपछि मच्छेगाउँबाट बल्खु किनारमा रहेको विष्णुदेवी मन्दिर परिसरमा होमजोगी गरिएको हो । भोलि बिहान ८ बजे विशिष्ट व्यक्तिहरुको उपस्थितिमा विष्णुदेवीको रथ तानिनेछ । 

पर्सि दिउँसो सरकारी पूजा गरेर राति यायव शुरु गरिनेछ । बुधबार बिहान ६ बजे विष्णुदेवी रथ बल्खु पुर्याएर दिउँसो १ बजे उठाइनेछ । सोही दिन दिउँसो ३ बजे टाँखलमा छत्र गुठीको पूजा गरिने तालिका छ । त्यसपछि रथ दवारवालमा ल्याउने र सरकारी पूजासहित राँगाको बलि दिइन्छ । 

बुधबार बेलुकी नै गणेशस्थानमा लसकुशसहित सिन्दुर जात्रा गरेर राति विष्णुदेवी डबलीमा बिसाएपछि जात्रा समाप्त हुन्छ । जात्रा सकिएको भोलिपल्ट बल्खुमा विचा पूजा गर्ने चलन छ ।

टिप्पणीहरू