पूजा र सुदर्शनबीच चर्काचर्की, थापाले निजी स्वार्थ मात्रै हेरेको पूजाको आरोप
नेपाली चलचित्रमा एउटा प्रचलित कथन छ : दुश्मन र मित्रता जे सुकै होओस्, पैसा चाँही खल्तीमा आओस् ।
कुनै बेला उत्कृष्ट कोल्याब्रेशन प्रमाणित गरेका निर्देशक र अभिनेत्रीको सम्बन्धमा आएको दरारको प्रसंग हो, यो । चलचित्र वृत्तमा एउटै परिवारका दाजु–बिहिनी भनेर चिनिएका निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्माबीच फाटो आएको छ । ‘प्रेम गीत’, ‘म यस्तो गीत गाउँछु’, ‘रामकहानी’, ‘सम्हालिन्छ कहिले मन’ जस्ता चलचित्रमा सहकार्य गरेका सुर्दशन र पूजा अहिले एक–अर्काको अनुहार हेर्नै नचाहने अवस्थामा पुगेका हुन् ।
यी दुईबीच झगडा हुनुको कारण चलचित्र ‘रावायण’ भनिएको छ । गत भदौ २१ गते प्रदर्शित उक्त चलचित्र बक्स अफिसमा सफल हुन सकेन । अभिनेता पल शाह र पूजाको मुख्य भूमिका रहेको चलचित्रलाई सुदर्शनले निर्देशन गरेका थिए । पूजा नै निर्माता रहेको यस चलचित्रले लगानी समेत उठाउन नसकेको भनेर चर्चा गरियो ।
चलचित्र घाटामा गएपछि प्राविधिकहरुले पारिश्रमिक पाएका छैनन्। केही दिनअघि उनीहरुले पारिश्रमिक नपाएको भन्दै चलचित्र प्राविधिक संघमा उजुरी दिएका थिए । संघले पनि छलफलका लागि सुर्दशन र पूजालाई आफ्नो कार्यालयमा बोलाया । तर संघको कार्यालयमा सुर्दशन र पूजाले भनाभन गरेर रमिता देखाएका छन् ।
एक प्रत्यक्षदर्शीका अनुसार छलफलमा पूजाले आफू पनि घाटामा गएको, तर केही ठाउँहरुबाट पैसा उठ्न बाँकी रहेकाले केही समय पर्खिन आग्रह गरेकी थिइन् । तर निर्देशक सुदर्शनले भने हाल पैसा नभएको, र ‘आगामी चलचित्रको प्रोजेक्टमा हेरौलाँ’ भन्दै प्राविधिकहरुलाई पारिश्रमिक दिन नसकिने बताएका थिए । दुई जनाबीच कुरा नमिल्दा चर्काचर्की गरेर हिँडेको ती प्रत्यक्षदर्शीले बताए । सुर्दशन र पूजा झगडा गरेर बाटो लागेपछि छलफलमा प्राविधिकहरुलाई कहिलेसम्म पारिश्रमिक दिने भन्ने ठोस निर्णय नै हुन सकेन ।
यता पूजाले सुदर्शनप्रति गरेको सम्पूर्ण विश्वास टुटेको बताएकी छन् । उनका अनुसार ‘रावायण’ निर्माण टिमका प्राविधिकहरुलाई १० लाख हारहारीमा पारिश्रमिक दिन बाँकी छ । चलचित्रको डिजिटल राइट्स बिक्रीवापतको पैसा उठ्न बाँकी रहेको र सो पैसा उठाएर प्राविधिकहरुलाई पारिश्रमिक दिने पूजाको योजना छ । तर निर्देशक सुर्दशनले डिजिटल बिक्रीवापतको पैसा उठाएर आफै खान खोजेको बताइन् ।
‘वर्षौदेखि सँगै काम गर्नुभयो, आधा दर्जन चलचित्रमा सहकार्य गर्नुभयो, कहिले कसरी विश्वास टुट्यो त ?’ भन्ने जनआस्थाको प्रश्नमा पूजा भन्छिन्, ‘त्यहि त मेरो गल्ती भयो । अहिलेसम्म हामीले जति पनि चलचित्रमा काम गयौँ, म कुनैको हिसाबकिताबमा इन्भल्भ भइनँ । उहाँले मौखिक हिसाब सुनाएपछि मैले त्यसैमा ओके भन्थेँ । तर रावायणको हकमा मैले सम्पूर्ण हिसाबकिताब खोजेपछि उहाँलाई अप्ठयारो परेको होला । प्राविधिक आफैमा मर्कामा परेका हुन्छन्, चलचित्र डुबे पनि उनीहरुलाई पारिश्रमिक दिनुपर्छ भन्ने हो । तर उहाँले मान्नुभएन ।’
‘रावायण’को सम्पूर्ण हिसाबकिताब खोजेपछि सुदर्शन छलफलमै बस्न नमानेको पनि पूजाले बताइन् । त्यसो भए रावायणको ठोस आम्दानी कति भयो होला ? भन्ने प्रश्नमा उनले भनिन्, ‘अन्तिम हिसाबमा बसेका छैनौँ । मैले सबै हिसाबकिताब गर्न खोजेको छु, उहाँलाई किन अप्ठ्यारो भइरहेको छ, बुझेको छैन ।’
चलचित्र निर्माणमा सयौँको योगदान हुने भए पनि सुदर्शनले आफूले मात्र लाभ लिन खोजेको पूजाको आरोप छ ।
टिप्पणीहरू