वीरगञ्ज लैजाने क्रममा रविको पक्षमा सिमरामा नाराबाजी
फाइल फाेटाे
सहकारी ठगीलगायत विभिन्न आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै सिमरा पुर्याइएको छ ।
सानोपाइला सहकारी संस्थाको बचत हिनामिनाबारे अनुसन्धान गर्न वीरगञ्ज लैजाने क्रममा उनलाई विमानबाट सिमरा पुर्याइएको हो । त्यहाँबाट गाडीमा राखेर वीरगञ्ज लैजाने क्रममा रास्वपाका केही कार्यकर्ताले सिमरा विमानस्थल अगाडि नाराबाजी गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई दिउँसो बुद्ध एयरको उडानमा पोखराबाट काठमाडौं ल्याइएको थियो । कात्तिक २ गते काठमाडौँमा पक्राउ परेका लामिछानेमाथि विभिन्न सहकारी संस्थाको बचत अपचलनमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
वीरगञ्जस्थित सानोपाइला सहकारी ठगीमा उनीविरुद्ध केही दिनअघि पक्राउ पूर्जी जारी भएपछि अनुसन्धानको क्रममा उनलाई आज त्यहाँ लगिएको हो । रविलाई त्यहाँ बयान लिएपछि पुनः पोखरा लगिने छ ।
टिप्पणीहरू