प्रधानमन्त्री ओलीले मुलुकको हितमा सिन्को नभाँचेको प्रचण्डको ठहर
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको हितमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्कोसमेत नभाँचेको टिप्पणी गर्नुभएको छ । आफू प्रधानमन्त्री हुँदा भएका कामहरुलाई देखाएर ओलीले जस लिन खोजेको तर एउटा पनि नयाँ काम नगरेको उहाँले दावी गर्नुभयो ।
चीनसँग बिआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्ने वातावरण अघिल्लो वर्ष आफूले तयार गरेको उहाँको भनाई छ । अहिले प्रधानमन्त्रीले त्यसैको फोटोकपी प्रचार गरिरहेको प्रचण्डको आरोप छ । चिवतनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै भन्नुभयो, ‘केपी ओलीले नयाँ भनेको एउटा सिन्को पनि भाँचेको मैले देखेको छैन, तैपनि मैले गरेका कामलाई उनले मान्यता दिए, त्यसका लागि धन्यवाद छ ।’
काँग्रेस–एमालेको गठबन्धन रास्वपा सभापति रवि लामिछानेसँग तर्सिएको समेत प्रचण्डले जिकिर गर्नुभएको छ । लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग गर्दै उहाँले भन्नुभयो, ‘अहिले त आतंकित पार्ने ढंगले मध्यरातमा प्रहरीबाट ज्यादती भएको पनि सुन्छु । देशको चौथो पार्टीको नेता भागेर विदेश जाने स्थिति छैन । किन हिरासतमा राख्नुप¥यो ? बाहिर राखेर जे जे अनुसन्धान गरे पनि भइहाल्यो नि ! किन तर्सिनपर्यो ?’

सरकार विभिन्न काण्डमा मुछिएका आफ्ना मान्छेलाई जोगाउने र विपक्षीलाई तर्साउने ढंगले अघि बढिरहेको आरोप लगाउँदै उहाँले तत्काल यस्ता गलत गतिबिधि नसच्याए सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनीसमेत दिनुभएको छ । विपक्षीको आवाज दबाउन खोजे संसदको विशेष अधिवेशन बोलाउने र लाखौं जनता सडकमा उतार्ने प्रचण्डको घोषणा छ ।
‘तपाई हामी सबैलाई चासो हुनेलाई थाहा छ अहिले सरकारको नेतृत्व गर्ने दलका नेताहरु नै ठूला सहकारी ठग छन् । तिनै नाटकबाजहरुकलाई बचाउन सरकार केन्द्रित छ’, उहाँले भन्नुभयो, ’उनीहरुलाई बचाउनकै लागि रवि लामिछानेलाई सहकारीको सबै पैसा खाएको हो जसरी प्रस्तुत गरिएको छ ।’
रविलाई आफैँले प्रधानमन्त्री प्रस्ताव गरेको पार्टी र उसका नेताले अहिले पूर्वाग्रहपूर्ण प्रतिशोध साधेको उहाँले बताउनुभयो । भन्नुभयो, ‘रवि र राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेले भनेको स्वीकार नगरेको कारण राजनीतिक प्रतिशोधको व्यवहार देखाएको जोकसैले बुझ्नसक्छ ।’
टिप्पणीहरू