‘फ्रि भिसा फ्रि टिकट’ को प्रलोभन, विदेशमा बेचबिखन

‘फ्रि भिसा फ्रि टिकट’ को प्रलोभन, विदेशमा बेचबिखन

‘फ्रि भिसा फ्रि टिकट’ मा कुवेतमा घरेलु काम लगाइदिने प्रलोभनमा मानव बेचबिखन गरेका दुई जना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६, का २६ वर्षीय धर्म तामाङ र ३९ वर्षीय माईला लामा पाख्रिन भनिने टिकाराम तामाङलाई उक्त अभियोगमा प्रहरीले समातेको हो । 

कुवेतमा घरेलु काममा मासिक १२० कतारी रियाल कमाई हुने आश्वासन देखाएर उनीहरुले योजनाबद्ध रुपमा बेचबिखन गरेको प्रहरीको आरोप छ । उनीहरुले २०८० साउन ४ गते पीडितलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्याएका थिए । 

त्यसको भोलिपल्ट कुवेतको अलजारा भन्ने ठाउँमा पुर्याएपछि घर मालिकलाई ९०० कतारी रियालमा बेचेको प्रहरीको ठहर छ । कुवेती घर मालिकले आफुमाथि चरम श्रम शोषणसँगै यौन शोषणसमेत गरेको पीडितले प्रहरीसमक्ष बताएकी छन् । 

पीडित महिला त्यहाँबाट फुत्केर कुवेत प्रहरीको शरणमा पुगिन् । यसपछि ट्राभल डकुमेन्ट बनाएर उनी गत कात्तिक ९ गते नेपाल फर्किएकी हुन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले सो कार्यमा संलग्न धर्मलाई लमजुङ र टिकारामलाई कास्कीबाट नियन्त्रणमा लिएको हो । 

उनीहरुमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू