दिउँसो बयान सकिएका रविलाई भोलि बिहान पोखरा लगिँदै

दिउँसो बयान सकिएका रविलाई भोलि बिहान पोखरा लगिँदै फाइल फाेटाे

सहकारी ठगीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पर्सामा बयान सकिएको छ ।  

हिजो साँझ पोखराबाट काठमाडौँ हुँदै वीरगञ्ज पुर्याइएका उनको आज जिल्ला सरकारी वकिल कार्यालय पर्सामा दिनभर बयान लिइएको थियो । बिहान १० बजे नै बयान लिन शुरु गरेकोमा दिउँसो साढे २ बजे सकिएको हो । 

सरकारी वकिलको रोहबरमा प्रहरीले लामिछानेलाई ५४ प्रश्न सोधेको थियो । बयान सकिएसँगै उनलाई आज जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा पठाइएको र भोलि बिहान पोखरा फर्काइने जनाइएको छ । 

पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि अन्य चार वटा सहकारीको रकम हिनामिना गरेको आरोप छ । सोहीक्रममा कास्की, रुपन्देही, काठमाडौँ र चितवनमा बयान दिइसकेका उनलाई वीरगंजस्थित सानोपाइला सहकारीको बचत घोटालाबारे अनुसन्धान गर्न त्यता लगिएको हो । 

यही प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी तथा गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वउपाध्यक्ष छविलाल जोशीको पनि प्रहरीले पाँचै जिल्लामा बयान लिएको छ । आधा दर्जन सहकारीको पैसा कुम्ल्याएर विदेश भागेका जिबी राई अध्यक्ष रहेको ती सहकारीबाट विभिन्न व्यक्तिका नाममा ऋण लिएर गोर्खा मिडियामा रकम प्रवाह गरेको प्रमाणका आधारमा लामिछाने र जोशीमाथि प्रहरीले अनुसन्धान गरेको हो । 

त्यसबखत गोर्खा मिडियाको प्रवन्ध निर्देशक र शेयर सदस्य रहेका लामिछानेविरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ ।

टिप्पणीहरू