धरौटीमा छुटेका प्रसाईं अदालत परिसरबाटै पक्राउ

धरौटीमा छुटेका प्रसाईं अदालत परिसरबाटै पक्राउ फाइल फाेटाे

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसार्इंलाई धरौटीमा छुटे लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौँ जिल्ला अदालतको परिसरबाट नियन्त्रणमा लिएको छ । न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै प्रसाई र उनका वकिलहरु प्रक्रिया पूरा गर्न लागेका थिए । तर प्रसाईं छुटे पनि अदालत परिसरबाट पुनः नियन्त्रणमा लिइएको छ । 

सिआइबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार उनीविरुद्ध अपराधिक विश्वास घात र धम्की तथा असुलीको कसुरमा पनि अनुसन्धान भइरहेकाले नियन्त्रणमा लिइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै केही कागजात सार्वजनिक गरेपछि अफवाह फैलाएको आरोपमा मंसिर ४ गते पक्राउ परेका हुन् । साइबर ब्युरोले प्रसाईंमाथि विद्युतीय कारोबार र किर्तेको कसुरमा अनुसन्धान गरेको थियो । 

भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाम लिँदै विभिन्न व्यवसायीहरुलाई धम्काएको आरोपमा पक्राउ परेका हरिचन्द्र फुयालले प्रहरीसँग प्रसाईको नाम लिएका थिए । यस सम्बन्धमा बयान दिइसकेका प्रसाईंले पनि फुयाललाई पाँच लाख दिएको स्वीकारेको बताइन्छ । फुयाललाई भारतमा पक्रेर काठमाडौँ ल्याएपछि धम्की र असुलीमा उनको पनि संग्लनता रहेको खुलेको हो ।

टिप्पणीहरू