कोशीमा सँधै नामाकरणको किचलो
पहिचानवादीहरुले कोशी प्रदेश नाम खारेज गराएर पहिचानको आधारमा पुनः नामाकरण गराउन दोस्रो चरणको निर्णायक आन्दोलन घोषणा गरेपछि पुनः मन्त्रीस्तरीय वार्ता समिति गठन गरिएको छ । कोशी प्रदेश सरकारले वार्ताका लागि तेस्रो पटक मन्त्रीस्तरीय समिति बनाएको हो ।
यसअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै पहिलेको सरकार र केदार कार्की नेतृत्वको सरकारले पहिचानवादीसँग छलफल गर्न त्यस्तै समिति बनाए पनि वार्ता हुन सकेको थिएन । हिजो बसेको प्रदेश कोशी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर थापा मगरको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति बनाइएको छ ।
समिति सदस्यहरुमा कोशी सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी र भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईलाई राखिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवलाई समिति सचिव तोकिएको छ । कोशी प्रदेशमा यतिखेर कार्कीको नेतृत्वमा एमाले र काँग्रेस गठबन्धनको सरकार छ ।
विपक्षी दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी कोशी नाम खारेज गरेर पहिचानसहितको नामाकरण हुनुपने पक्षमा छन् । दोस्रो प्रदेश सभाले १७ फागुन २०७९ मा तत्काल प्रदेश नम्बर १ को नाम दुई तिहाई बहुमतबाट कोशी नामाकरण गरेको थियो । तर पहिचान पक्षधहरुले त्यसविरुद्ध पटक पटक आन्दोलन गर्दै आएका छन् ।
कोशी नामाकरणपछि पहिचानवादीले गर्दै आएको आन्दोलनमा प्रहरीसँग भिडन्त भइसकेको छ । जसमा दर्जनौं आन्दोलनकारी र प्रहरी घाइते भइसकेका छन् । विराटनगरको रोडशेष चौकमा ५ चैत २०७९ मा भएको भिडन्तमा घाइते भएका पहिचानवादी कार्यकर्ता मोरङ बेलबारीका पदमकुमार लिम्बू ‘लाजेहाङ’ को उपचारका क्रममा धरानमा मृत्यु भएको थियो ।
पहिले पहिचानवादीहरुसँग वार्ता गर्न २०८० जेठमा हिक्मतकुमार कार्की नेतृत्वको सरकाले मन्त्री तीलकुमार मेयाङबोको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति बनाएको थियो । यो समितिले पहिचानवादीसँग वार्ता अगाडि बढाउन सकेन । त्यसपछि मुख्यमन्त्री केदार कार्की सरकारले २०८० माघमा तात्कालीन मन्त्री कमलप्रसाद जवेगुको नेतृत्वमा मन्त्रीस्तरीय वार्ता समिति बनाएको थियो ।
उक्त वार्ता समितिले पनि पहिचानवादीसँगको वार्ता गर्न सकेन । फेरि एमालेका मुख्यमन्त्री हिक्मतकुरमा कार्की नेतृत्वकै सरकारले २७ मंसिर २०८१ मा तेस्रो पटक पुनः रामबहादुर थापा मगरेको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति बनाएको हो । एमालेका मन्त्री थापा कोशी नामाकरण गराउँदा प्रदेश सभामा प्रस्ताव बसेका थिए । त्यसपछि पहिचानवादीहरुले इलामस्थित उनको घरमा कालोझण्डा पनि गाडेका थिए ।
प्रदेश सभा घेर्ने निर्णायक आन्दोलन
नामाकरण खारेज गराउन पहिलो चरणको आन्दोलन असफल भएपछि पहिचानबादीहरुले २ कार्तिक २०८१ मा विराटनगरमा प्रदर्शन गर्दै दोस्रो चरणको निर्णायक आन्दोलन घोषणा गरेका थिए । पहिलो चरणमा पहिचानवादी संघसंस्थाहरुले संयुक्त संघर्ष समिति आन्दोलन चर्काएका थिए । तर दोस्रो चरणको आन्दोलनमा राजनैतिक दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा अनि वैज्ञानिक समाजवादी पार्टीलगायतले पनि साथ दिने प्रतिबद्धता जनाएका छन् ।
पहिचानवादीहरुले दोस्रो चरणका लागि कोशी नामाकरण भएको दिन १७ फागुनलाई कालो दिवसका रुपपमा मनाउने र १० चैत २०८१ ममा नामाकरण खारेजी माग गर्दै कोशी प्रदेश सभा घेराउ गर्नेंलगायतका कार्यक्रम घोषणा गरेका छन् । यस्तै घोषणा गरिएका आन्दोलनका अन्य कार्यक्रममा प्रदेशसभा, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने उल्लेख छ ।
यसैगरी, कोशी नामका पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्य (प्रदेश सांसद) लाई निर्वाचन क्षेत्रमा निषेध गर्ने सार्वजनिक कार्यक्रममा सहभागी नगराउन र गराए प्रतिरोध गर्ने विभिन्न ठाउँमा लेखिएको प्रदेशको नाम ‘कोशी’ मेटाउन र हटाउने र कोशी नामको लेटर प्याड, छाप नचलाउन कार्यालय प्रमुख कर्मचारीहरुलाई अनुरोध गर्ने र नमानेमा स्पष्टीकरणको कारबाही अघि बढाउने उनीहरुको चेतावनी छ ।
टिप्पणीहरू