भन्सारको बेथितिसम्बन्धी उजुरीमा प्रधानमन्त्री कार्यालयको मौनता
गृहमन्त्री रमेश लेखकले लुम्बिनी प्रदेशमा राजस्व चुहावट, तस्करी र सीमापार अपराधको समस्या र चुनौती रहेको बताउनुभएको छ । भैरहवामा आयोजित संयुक्त सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले राजस्व चुहावट, तस्करी र सीमापार अपराध तत्काल रोक्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
बेलहिया भन्सारका तत्कालीन प्रमुख नारद गौतमको सरुवापछि रामप्रसाद रेग्मीको आगमनमा रुपन्देहीका उद्योगी व्यवसायीहरुले सांगठनिक रुपमा तत्कालीन प्रमुख जिल्ला अधिकारी गोकर्ण अर्यालको रोहवरमा रेग्मीको ध्यानाकर्षण समेत गराएका थिए । तर पहिलेको तुलनामा केही मत्थर भए पनि ती गतिविधि नरोकिएको सरकारी स्रोतको दाबी छ ।
गौतमले बेलहिया भन्सारको लेन शाखामा कार्यरत नायव सुब्बा रुद्र पन्तलाई प्रयोग गरेर विदेशबाट ल्याइएका बढी भन्सार लाग्ने वस्तुलाई कम देखाउँदै पास गराएको धेरैले बताएका थिए । दुई वर्षअघि भैरहवा भन्सारबाट प्लास्टिक भन्दै काजु आयात गराइएपछि तत्कालीन कार्यालय प्रमुख मनिराम पौडेललाई स्पष्टिकरण सोधिएको थियो ।
भैरहवा भन्सार कार्यालयको बेथितिबारे यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकालमा प्रधानमन्त्री कार्यालयमा नै उजुरी परेको थियो । तर, त्यसमाथि कुनै कारबाही नभएपछि उक्त विषय त्यत्तिकै सेलाएको हो ।
उता राजस्व अनुसन्धान कार्यालय बुटवलमा कार्यालय प्रमुख विवेक घिमिरेले चुहावट नियन्त्रणमा कडाइ गर्न खोज्दै अभियान थालेपछि झडप भएको थियो । कात्तिक २२ गते रुपन्देहीको पूर्वी पर्सा चोकभित्र भन्सार छलेर ल्याउँदै गरेको समान नियन्त्रण गर्न खोज्दा अनुसन्धानका कर्मचारी, प्रहरी र तस्करबीच झडप भएको थियो । त्यसअघिका कार्यालय प्रमुखले छाडिदिएको स्वच्छन्दतालाई रोक्न खोजेपछि उक्त घटना भएको बताइन्छ ।
टिप्पणीहरू