उद्योगको लाइन काटेरमात्रै समस्याको समाधान ननिस्कनेमा ऊर्जामन्त्री विश्वस्त
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काटेरमात्रै समस्याको समाधान ननिस्कने बताएका छन् । औद्योगिक व्यापार मेला बुटवल—२०८१ को आज उद्घाटन गर्दै उनले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता असुली सम्बन्धमा उत्पन्न विवादबारे यस्तो धारणा राखेका हुन् ।
सरकारले जुनसुकै बाटो अपनाएर पनि महसुल उठाउन सक्ने भन्दै मन्त्री खड्काले लाइन काटेर समस्याको समाधान नहुने पुरानै अडान दोहोर्याएका छन् । ‘लाइन काट्ने कुरा समस्याको समाधान होइन । यदी महशुस उठाउनुपर्ने कुरा हो भने उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्छ’, उनले भने ।
मुलुक १८ घण्टे लोडसेडिङमा रहेका बेला डेडिकेटेड तथा ट्रंकलाइन सुविधा लिएर २४ सै घण्टा विजुली उपभोग गरेका तर महसुल नतिरेका व्यवसायीबाट बक्यौता उठाउने विषयमा सरकार र प्राधिकरणबीच लामो समयदेखि विवाद छ । प्राधिकरण जुनसुकै हालतमा पैसा उठाएरै छाड्ने अडानमा रहँदा सरकारले भने व्यवसायीप्रति नरम व्यवहार गर्दै आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहणलगत्तै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बालुवाटार बोलाएर व्यवसायीहरुकै अगाडि लाइन जोड्न निर्देशन दिनुभएको थियो । तर, प्राधिकरणले मौखिक आदेशको भरमा लाइन जोड्न नसक्ने बताएपछि क्याबिनेटले निर्णय नै गरेर लाइन जोडिएको थियो ।
तीन महिनाभित्र बक्यौता तिर्ने शर्तमा त्यतिबेला लाइन जोडिए पनि उक्त अवधिमा व्यवसायीहरुले महसुल बुझाएनन् । त्यसपछि प्राधिकरणले पुनः लाइन काटेकोमा उर्जामन्त्री खड्काको प्रत्यक्ष चासो र हस्तक्षेपपछि फेरि १५ दिनको भाखा राखेर लाइन जोडिएको थियो । तर, उक्त समयसीमामा नाघेको झन्डै एक महिना बितिसके पनि अहिलेसम्म व्यापारीले पैसा तिरेका छैनन् ।
यसैबीच ऊर्जामन्त्री खड्काले रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमै आफ्नो कार्यकक्ष बनाएपछि यो विवाद थप चर्किएको छ ।
टिप्पणीहरू