प्रधानमन्त्री यतीकाे उडानमा, प्रधानसेनापति हेलिकोप्टरमा
प्रधानमन्त्री केपी शर्मा ओली विराटनगरबाट फर्कनुभएको छ । सुुनसरीको इटहरीमा नेपाल जेसिजको ५१ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेपछि उहाँ यती एअरलाइन्सको उडान नम्बर एनवाईटी ७८८ मा साँझ सवा ६ बजे काठमाडौं आइपुग्नुभएको छ ।
महाधिवेशन उद्घाटनका लागि उहाँ आजै दिउँसो साढे १ बजे यती एअरलाइन्सको उडान नम्बर एनवाइटी ७८५ मा १४ जनाको टोलीसहित काठमाडौंबाट प्रस्थान गर्नुभएको थियो । पहिले बिहान सवा ११ बजे विराटनगर हुँदै इटहरी जाने कार्यक्रम तय भएको बताइन्छ ।
प्रधानमन्त्रीसँगै इटहरी गएका टोली सदस्यहरु पनि फर्केका छन् । स्वकीय सचिव राजेश बज्राचार्यसहित दिनेश भण्डारी,सुशील दंगाल,नवीन कार्की, दिवाकर खड्का, हरिश खड्का,सुन्दर खड्का,लोकेश कुशरी,दिनेश न्यौपानेसहितको सुरक्षा दस्ता प्रधानमन्त्रीसँगै त्यता गएको हो । त्यसैगरी,लक्ष्मी पौडेल,प्रेस तर्फका प्रकाश सिलवाल,राजेन्द्र आचार्य, वकिल अधिकारी पनि राजधानी फर्केका छन् ।
आजै प्रधानसेनापति अशोकराज सिग्देल कोशी प्रदेशका विभिन्न जिल्लास्थित ब्यारेकहरुको निरीक्षण भ्रमणपछि राजधानी फर्कनुभएको छ हिजो बिहान धनकुटा, धरान, झापा हुँदै पाँचथर पुगेको प्रधानसेनापतिको टोली उतै अड्किएको थियो ।
प्रधानसेनापतिको टोली बोकेर गएको सेनाको एनए ०५८ अगुस्टा हेलिकोप्टर आज पाँचथरबाट झापाको चन्द्रगढी हुँदै उदयपुर, ओखलढुंगा पुगेर पौने ७ बजे काठमाडौं आइपुगेको हो । धनकुटा,इटहरी,चन्द्रगढी,पाँचथरमा भइरहेको सामूहिक तालिम इलाकाको निरीक्षणमा गएको टोलीमा उपरथी पवनराज घिमिरे र अन्य अधिकृत गरेर छ जना रहेको बताइएको छ ।
टिप्पणीहरू