रवि पत्नी निकिताको पनि सम्पत्ति जफत गर्न माग

रवि पत्नी निकिताको पनि सम्पत्ति जफत गर्न माग
सुन्नुहोस्

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलविरुद्ध पनि मुद्दा चलाइएको छ । 

रविमार्फत भएको सहकारी घोटालामा उनलाई मुख्य कसुरदार नभई सम्पत्ति जफतका लागि जिल्ला सरकारी वकिल कार्यालय कास्कीले प्रतिवादी कायम गरेको हो । त्यस्तै,सम्पत्ति जफत प्रयोजनका लागि पद्मा बन्जाडे जोशी,रोचक चौधरी,राधा पछाई र गीता पछाईलाई पनि प्रतिवादी बनाइएको छ । 

अभियोग पत्रमा उनीहरुमाथि कानुन बमोजिम गर्न भनिएको छ ।

जिबी राई समूहले देशका विभिन्न स्थानमा सहकारी खोलेर गोर्खा मिडिया नेटवर्क प्रालिमा गैरकानुनी तवरले पुर्याएको झण्डै ७५ करोड रकम उक्त कम्पनीका प्रवन्ध निर्देशक रविले एकलौटी परिचालन गरेका थिए । त्यसमध्ये निकिताको खातामा ३५ लाख र उनका बाबु तथा रविका ससुरा गोपीकृष्ण मुभिजका मालिक उद्धव पौडेलको खातामा ५० लाख जम्मा गरेको अभियोग छ । 

उक्त रकम अहिले खातामा नरहेकाले क्रिप्टो र हुण्डीमार्फत विदेश ओसारिएको हुनसक्ने सरकारी पक्षको अनुमान छ ।

यसअघि अनुसन्धानका क्रममा लामिछाने दम्पत्तिको बैंक खातामा अस्वाभाविक कारोबार देखिएको थियो । रवि र निकिताको पाँच वटा फरक-फरक खातामा सन् २०१६ यता २१ करोड ट्रान्जेक्सन देखिएको प्रहरीले जनाएको छ ।

उक्त रकम अहिले खातामा नरहेकाले क्रिप्टो र हुण्डीमार्फत विदेश ओसारिएको हुनसक्ने सरकारी पक्षको अनुमान छ।  रवि र गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित ४४ जनाविरुद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । उनीहरुलाई सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर लगाइएको छ ।

टिप्पणीहरू