दम बढेपछि मोहन वैद्यको टिचिङमा उपचार

दम बढेपछि मोहन वैद्यको टिचिङमा उपचार फाइल फाेटाे

क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ अस्पताल भर्ना भएका छन् । ७८ वर्षीय वयोवृद्ध नेतालाई एकाएक दम बढेपछि हिजो त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

१३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा आयोजित कार्यक्रममा सहभागी वैद्य कार्यक्रमस्थलमै अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना गरिएको बताइन्छ । श्वासप्रश्वासमा समस्या हुँदा यसअघि पनि उनको टिचिङमै उपचार गरिएको थियो ।  

वैद्य लामो समयदेखि दमबाट पीडित छन् । चिसो मौसममा उनलाई उक्त रोगले थप गलाउने गरेको छ ।   

तत्कालीन एकीकृत माओवादीबाट विद्रोह गरी २०६९ सालमा आफ्नै नेतृत्वमा नेकपा–माओवादी गठन गरेका वैद्य त्यसयता फुट र एकतासँगै पार्टीको नाम फेर्दै निरन्तर मुख्य नेतृत्वमा छन् । गत मंसिरमा सम्पन्न क्रान्तिकारी कम्युनिष्ट पार्टीको महाधिवेशनले उनलाई सर्वसम्मत महासचिव चयन गरेको थियो । 

बुढेसकालमा पनि पार्टीको नेतृत्व गरिरहेका वैद्य तुलनात्मक रुपमा इमान्दार मानिन्छन् । उनी लाभको पदमा नपुग्ने थोरै वामपन्थी नेतामा पर्छन् । २०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिक सांसद बनेका उनी छ महिनामै राजीनामा दिएर बाहिरिएपछि अहिलेसम्म लाभको पदमा पुगेका छैनन् । त्यसताका माओवादीले राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव राख्दा उनले अस्वीकार गरेको चर्चा थियो । 

तीनपटक मुलुकको प्रधानमन्त्री भइसकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समेत राजनीतिक गुरु मानिने वैद्य सशस्त्र संघर्षका पक्षपाती हुन् । शास्त्रीय ढाँचाको कम्युनिष्ट पार्टीमा विश्वास राख्ने उनलाई जडसुत्रवादीको आरोप लाग्ने गरेको छ ।

टिप्पणीहरू