खेलौना तालिम, पौने चार लाख झ्वाम

खेलौना तालिम, पौने चार लाख झ्वाम

सर्लाहीको बलरा नगरपालिकाका मेयर रामा शंकरप्रसाद कुशवाहा भ्रष्टाचारमा डामिएका छन् । खेलौना बनाउने तालिममा अनियमितता गरेको आरोपमा उनीसहित आठ जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो । 

मुद्दा चलाइएकामा प्रमुख प्रशासकीय अधिकृत सुशिलकुमार साह, लेखापाल राजकुमार महतो, योजना शाखा प्रमुख उदयकुमार साह, वडा नम्बर ५, का वडाध्यक्ष मनोज मोहनकुमार सिंह, शान्ति विकास कल्याण केन्द्रका अध्यक्ष सविन्द्रनारायण साह, सदस्य उमेशकुमार पासवान र जाजुलमियाँ कवारी छन् । 

नगरपालिकाको आर्थिक वर्ष २०८०–०८१ को ११ औं नगरसभाले नगरस्तरीय कार्यक्रम ‘किशोरीहरुको लागि खेलौना बनाउने तालिम’ को लागि चार लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसका निम्ति शान्ति विकास कल्याण केन्द्रसँग सम्झौता गरिएको हो । 

अख्तियारका अनुसार एक महिना तालिम सञ्चालन गर्ने भनिएकोमा उनीहरुको मिलेमतोमा पाँच दिनमात्र भएको र सहभागी १७ जनामध्ये नौ जनाको हस्ताक्षर, औंठाछाप नमिलेको पाइएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम तीन लाख ८२ हजार ५३ रुपैयाँ बिगो कायम गर्दै प्रतिवादीहरुलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।

टिप्पणीहरू