विद्यार्थीबाट बूढा खाडा बाहिर
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा लामो समयदेखि चलिरहेको उमेर हदसम्बन्धी विवाद अन्ततः टुंगिएको छ । हालै सम्पन्न निर्वाचनमा '३२ वर्ष उमेर हद' लगाउने पक्षमा बहुमत जुटेसँगै लामो समयदेखिको यो किचलो लोकतान्त्रिक विधिमार्फत छिनोफानो भएको हो ।
गत असोज १० देखि १५ सम्म चलेको क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाटै संगठनले नयाँ नेतृत्व पाउनुपर्थ्याे । तर,उमेर हद लागू गर्ने कि नगर्ने भन्ने विषयमा विवाद चर्किंदै जाँदा कुर्सी हानाहानसम्मको अवस्था बनेपछि सम्मेलन स्थगित भयो । पटक-पटकको छलफलपश्चात मतदानबाट निर्णय लिने टुंगोमा पुगेको क्रान्तिकारीको शनिबार निर्वाचन भएको थियो ।
निर्वाचनमा कूल १७८९ मत खसेकोमा उमेर हद लगाउने पक्षमा ९०० र खुला प्रतिष्पर्धाको पक्षमा ८७९ मत खसेकाे प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जानकारी दिए । योसँगै आगामी माघ १२ गते नेतृत्व चयनका लागि मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
नेतृत्वमा दावी गरिरहेका अधिकांश ‘आउट’
३२ वर्षे उमेर हद लागु भएसँगै नेतृत्वमा दावी गर्दै आएका अधिकांश विद्यार्थी नेता प्रतिस्पर्धाबाट स्वत: बाहिरिएका छन् । निवर्तमान उपाध्यक्ष इन्द्र भुसाल, तुकमान महरा,जिपी मैनाली,मिलन एमसी,नरेश रेग्मी,पवन कार्की,मदन भुल,केशव रावल,अच्युत भट्टलगायत चुनाव लड्न पाउने छैनन् ।
त्यस्तै,अध्यक्षमा दावी गर्दै आएका निवर्तमान महासचिव दिपेश पुनले पनि प्रतिस्पर्धामा उत्रन पाउने छैनन् । उपमहासचिव माथिका सबै नेता प्रतिस्पर्धाबाट बाहिरिएसँगै क्रान्तिकारीको नेतृत्वमा अब चर्चित अनुहार नदेखिने निश्चित भएको छ ।
चुनावले दिएको सन्देश
खुला राजनीतिमा आएसँगै प्रतिस्पर्धाको श्रेष्ठताबारे बहस चले पनि माओवादी केन्द्रको हकमा निर्वाचनमार्फत नेतृत्व चयनको अभ्यास आफैँमा नयाँ हो । अपवादबाहेक सबै तहका पार्टी कमिटी र अधिकांश जनवर्गीय संगठन निर्वाचित हैन 'मनोनित' प्रणालीअनुसार छानिंदै आएका छन् । तर, नेता उत्पादनको कारखाना मानिने अखिल (क्रान्तिकारी)मा भने लोकतान्त्रिक प्रक्रियामार्फत उमेर हदको टुंगो लागेपछि युवा-विद्यार्थीहरु उत्साहित देखिन्छन् । आम रुपमा पनि यसलाई सकारात्मक कदमका रुपमा विश्लेषण गरिएको छ ।
त्यसो त, यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी नेताहरुलाई खुमलटार बोलाएर सहमतिबाट समस्या समाधान गर्न निर्देशन नदिएको होइन । तर, संगठनमा हस्तक्षप हुने तरिकाले उमेर हदको विषयमा भने उनी कतै पनि नढल्किएपछि चुनावी वातवरण बनेको विद्यार्थी नेताहरु बताउँछन् ।
तर, पार्टी संगठनमा बलियो प्रभाव बनाएका उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनबीच उमेर हदको विषयमा मतभेद थियो । एक विद्यार्थी नेताका अनुसार पुन उमेर हद लगाउन नहुने लाइनमा उभिँदा शर्माको समर्थन उमेर हदको पक्षमा थियो । यसबारे उनीहरुले औपचारिक रुपमा मुख नखोले पनि अध्यक्ष प्रचण्डसँग परिवेशअनुकूल आन्तरिक संवाद चलाएका थिए ।
जे भए पनि, क्रान्तिकारीमा उमेर हदको नीति निर्वाचनबाट तय गरिनुले माओवादीमा आन्तरिक लोकतन्त्रको अभ्यासलाई जीवन्त तुल्याएको छ । यसले पार्टी संगठन र अन्य जनवर्गीय संगठनहरुलाई पनि चुनावी प्रक्रियामार्फत विधिसम्मत कमिटी चयनका लागि मार्गप्रशस्त गरिदिएको छ ।
टिप्पणीहरू