गैंडाको आक्रमणबाट वृद्धाको मृत्यु, पाँचजना सिकिस्त
चितवनमा जंगली जनावर गैंडाको आक्रमणबाट एक जनाको ज्यान जानुका साथै पाँच जना घाइते भएका छन् ।
रत्ननगर नगरपालिका- १३ स्थित जयमंगला भन्ने ठाउँमा आज दिउँसो पौने दुई बजेतिर गैंडाले एकएक आक्रमण गर्दा गम्भीर घाइते भएकी सोही नगरपालिका–१६ की ७० वर्षीया कृष्णाकुमारी थापाको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते पाँचै जनाको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार शरीरका विभिन्न अंगमा चोट लागेका सबै घाइतेको अवस्था मध्यम छ । जसमध्ये रत्ननगर–१६ का ७८ वर्षीय डम्मरबहादुर थापाको दाहिने खुट्टामा चोट छ भने वडा नम्बर १२ का ७२ वर्षीय चेतनाथ चौलागाइको बायाँ खुट्टा र अनुहारमा घाउ भएको छ ।
त्यस्तै, रत्ननगर–१२ की ३९ वर्षीय सीता पोख्रेलको टाउकोमा, वडा नम्बर १४ की ६० वर्षीया मीना गुरुङको बायाँ खुट्टामा र वडा नम्बर १२ का २५ वर्षीय पुजन विकको बायाँ आँखा माथि घाउ लागेको जनाइएको छ ।
टिप्पणीहरू