ओलीलाई भीम रावलको प्रश्न : तपाईं माधव नेपाल र झलनाथसँग किन लडेको ?
नेकपा एमालेबाट निकालिएका नेता डाक्टर भीमबहादुर रावलले केपी शर्मा ओलीविरुद्ध अध्यक्ष उठेकै कारण आफू कारवाही परेको बताएका छन् ।
एमालेले सदस्यता खोसेपछि 'नयाँ यात्रा'बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले सौराहा महाधिवेशनमा प्रतिष्पर्धा गरेकै कारण प्रतिशोधपूर्ण व्यवहार गरिएको बताएका हुन् । 'अध्यक्षमा किन उठेको ?' भनी आफूलाई स्पष्टिकरण सोधिएको भन्दै उनले यसलाई जबजको मान्यताविरित्को कदम भनेका छन् ।
महाधिवेशनमा उम्मेदवार बनेकै कारण आफूलाई कारवाही गर्ने अध्यक्ष ओली आफैँ माधव नेपाल र झलनाथविरुद्ध किन उठेको ? भन्दै रावलले प्रतिप्रश्न गरे । ‘मलाई महाधिवेशनमा अध्यक्ष पदमा किन उठेको भनी प्रश्न गरेको पढ्दा प्रतिप्रश्न गर्न मन लाग्यो’, स्पष्टीकरण पत्रमा उल्लेखित बुँदा केलाउँदै उनले भने, ‘तपाईं केपी ओलीले चाहिँ आठौँ महाधिवेशनमा झलनाथ खनाल र नवौँ महाधिवेशनमा माधवकुमार नेपालसँग अध्यक्षमा किन प्रतिस्पर्धा गरेको ?’
टिप्पणीहरू