सर्वोच्चमा भने मिल्न पुगे कांग्रेस र एस

सर्वोच्चमा भने मिल्न पुगे कांग्रेस र एस
सुन्नुहोस्

सत्तारुढ दुई ठूला दल नेपाली कांग्रेस र एमाले समर्थित सञ्चारकर्मीहरूले नेपाल पत्रकार महासंघको चुनावमा केन्द्रीय सत्ताकै अभ्यास गरे पनि बार एशोसिएशनमा भने फरक अवस्था देखिएको छ । पुष २० गते हुने सर्वोच्च बारको चुनावमा सत्ता सहयात्री वकिलहरूबीच फाटो परेको छ । एमालेनिकट वकिलहरू एकातिर छन् भने कांग्रेस समर्थित डिएलए पक्षधरहरूले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सँग तालमेल गरेको छ । 

सर्वोच्च बारमा कांग्रेसनिकट प्रजातान्त्रिक धारका वकिलहरूको वर्चश्व छ । त्यसैगरी उच्च अदालत पाटनमा एमालेनिकट प्रगतिशील खेमाको हालिमुहाली छ । काठमाडौं बारमा कांग्रेस निकट र ललितपुर बारमा माओवादी वकिलहरूको एकलौटी जस्तै देखिन्छ । यस्तो बेला सर्वोच्च बारमा बृहत् लोकतान्त्रिक, समाजवादी, समावेशी पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गर्दै वरिष्ठ अधिवक्ता मेघराज पोखरेलको समूह खडा भएको देखिन्छ । 

यस समूहको उपाध्यक्षमा एससमर्थक समाजवादी वकिलका महासचिव अधिवक्ता अम्बरबहादुर राउत, सचिवमा नेपाली कांग्रेसनिकट रमणकुमार कर्ण भिड्दैछन् । सहसचिव (महिला) मा उठेकी पुन्देवी महर्जन उर्फ सुजना भने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका कानुनी सल्लाहकार हुन् । गुल्मेली श्रीमान ओम अर्यालले गिरीबन्धु टी इस्टेटको विषयलाई लिएर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रिट दायर गरी सरकारको निर्णय उल्टाइदिएका थिए । उनी समाजवादी निकटकी हुन् । कोषाध्यक्ष अधिवक्ता रामचन्द्र पौडेल प्रजातान्त्रिक खेमाबाट उठेका छन् । महिला सदस्यमा कांग्रेस समर्थित शशी बस्नेतले उम्मेदवारी दिएकी छन् । ९ सदस्य उठेकामा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता दुर्गामोहन श्रेष्ठ र अधिवक्ता प्रदीपकुमार राजवंशी एकीकृत समाजवादीनिकट मानिन्छन् ।

त्यसैगरी सदस्यमा इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी, पुरुषोत्तमप्रसाद लोहनीको समूह छ । सर्वोच्च बारमा कांग्रेसनिकट करिब ६ सय र नेकपा (एकीकृत समाजवादी) निकट करिब ५० जना वकिलहरू रहेको बताइन्छ ।
 

टिप्पणीहरू