श्रीमतीबाट लफडा,स्वकीय सचिवबाट पनि लफडा

श्रीमतीबाट लफडा,स्वकीय सचिवबाट पनि लफडा

संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध ठगी मुद्दामा अनुसन्धान गर्न परमादेश जारी भएको छ । 

नेकपा (एमाले) मोरङ जिल्ला कमिटी सदस्यसमेत रहेका अनिलविरुद्धको मुद्दामा अनुसन्धान गर्न उच्च अदालत,विराटनगरले जिल्ला प्रहरी कार्यालय, मोरङका नाममा परमादेश जारी गरेको हो । न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले त्यस्तो आदेश दिएको उच्चका रजिष्ट्रार जगदीशप्रसाद भट्टले बताए । 

अदालतको परमादेशपछि सभापति ऋषिकेशले उनलाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाएका छन् । विभिन्न सञ्चारमाध्यममा आइरहेको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले आजको मितिबाट लागू हुनेगरी जिम्मेवारीबाट हटाइएको बताएका छन् । 

संघीय संसद् सचिवालयमा आज दर्ता गरिएको पत्रमा भनिएको छ,‘मेरो स्वकीय सचिवको रुपमा कार्यरत अनिलकुमार पोखरेललाई उच्च अदालत,मोरङबाट पक्राउ पुर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । निजमाथि लगाइएका विभिन्न आरोपहरुको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुनेगरी निष्काशन गरेको व्यहोरा अनुरोध गर्दछु ।’

अनिलविरुद्ध स्थानीय बौआलाल चौधरीले ठगी मुद्दा दायर गरेका हुन् । छोरीको नाम एमबीबीएसको इन्ट्रान्समा निकालिदिन्छु र होस्टेलमा बस्ने व्यवस्था मिलाइदिन्छु भन्दै पटकपटक गरी ३८ लाख ८० हजार रुपैयाँ लिएको र एमबीबीएसमा नाम ननिस्किएपछि पैसा फिर्ता माग्दा धम्की दिएको बौआलालले अदालतमा दायर गरेको निवेदनमा उल्लेख छ । 

सभापति पोखरेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध पनि अदालतमा मुद्दा चलिरहेको छ । मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा मुछिएकी उनी पक्राउ पुर्जी जारी भएलगत्तै बेपत्ता छिन् ।

 

टिप्पणीहरू