वकिलले बहस गर्दागर्दै रवि लामिछाने जुरुक्क उठेपछि...

वकिलले बहस गर्दागर्दै रवि लामिछाने जुरुक्क उठेपछि...
सुन्नुहोस्

इजलासमा बहस चलिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वमन्त्री रवि लामिछाने जुरुक्क उठेर प्रतिवादमा उत्रिए- अब्जेक्सन श्रीमान् !, कास्कीका सहकारी पीडित जाहेरकर्ताको तर्फबाट बहस गरिरहेका वरिष्ठ अधिवक्ता रामचन्द्र गौतमले पत्नी निकिता र ससुरा उद्धव पौडेलको प्रसंग निकालेपछि आक्रोशित हुँदै उनले 'अब्जेक्सन' जनाएपछि केहीबेर बहस रोकियो । 

एकाएक माहोल तातेपछि न्यायाधीश नितिज राईले हस्तक्षेप गर्दै लामिछानेलाई सचेत गराए- बहस सुन्ने धैर्यता हुनुपर्छ, तपाईंले अब पनि वीचमा डिस्टर्ब गर्नुभयो भने मैले अर्को निर्णय पनि गर्नुपर्ने हुनसक्छ !' इजलासले बहसलाई निरन्तरता दिन भनेपछि अधिवक्ता गौतमले लामिछानेविरुद्धको अभियोग पुष्टि हुने आधार र कारणको लामो फेहरिस्त सुनाए । 

सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा हिजो थुनछेक बहस चलिरहँदा इजलासमा यस्तो देखिएको हो । जिबी राई सन्चालक रहेको सूर्यदर्शन लगायत विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा गैरकानुनी तवरले पुर्याएको झण्डै ७५ करोड रकम उक्त कम्पनीको प्रवन्ध निर्देशकको हैसियतमा लामिछानेले एकलौटी परिचालन गरेका थिए । त्यसमध्ये निकिताको खातामा ३५ लाख र उनका बाबु तथा रविका ससुरा गोपीकृष्ण मुभिजका मालिक उद्धवको खातामा ५० लाख जम्मा गरेको अभियोग छ । अधिवक्ता गौतमले त्यसैमा केन्द्रित रहेर बहस गरेका थिए । 

बहस सुन्ने धैर्यता हुनुपर्छ, तपाईंले अब पनि वीचमा डिस्टर्ब गर्नुभयो भने मैले अर्को निर्णय पनि गर्नुपर्ने हुनसक्छ !

यो मुद्दामा लामिछानेसहित सात जना प्रतिवादीको बयान सकिएलगत्तै मंगलबारदेखि जिल्ला अदालतमा थुनछेक बहस जारी छ । बुधबार सरकारी वकिलले सकेसँगै हिजो जाहेरवालाका कानुन व्यवसायीले बहस गरेका थिए । शुरुमा बहस गरेका नायव महान्यायाधिवक्ता सन्जिव रेग्मीले लामिछानेलगायतका प्रतिवादीलाई थुनामा पठाउन माग गरे । 

त्यसपछि काठमाडौँबाट गएका वरिष्ठ अधिवक्ताद्वय डाक्टर सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी बहसमा उत्रिए । उनीहरुले पनि अभियोग पुष्टि हुने आधार प्रस्तुत गर्दै लामिछानेसहितलाई थुनामा पठाउनुको विकल्प नभएको जिकिर गरेका थिए । भण्डारीले त थुना बाहिर रहने सुविधा दिँदा उनी पुन: सत्तामा पुग्ने र शक्तिको आडमा मुद्दा प्रभावित पार्न सक्ने खतरातर्फ इजलासको ध्यानाकर्षण गराए । लामिछानेकै कारण राजनीतिक अस्थिरता निम्तिने उनको तर्क थियो । 

अदालत स्रोतका अनुसार बहसको अन्तिममा न्यायाधीश राईले लामिछानेलाई सोधे- तपाईंले अघि के भन्न खोज्नुभएको थियो,ल भन्नुस् । तर, पहिले आक्रामक देखिएका उनी इजलासले समय दिएपछि भने बोल्न चाहेनन् । उनले 'मेरो केही छैन' भनेपछि हिजोको अदालती कारवाही सकिएको थियो । 

आजदेखि प्रतिवादीका तर्फबाट बहस शुरु भएको छ । अहिले छविलाल जोशी बन्जाडेको तर्फबाट कानुन व्यवसायीहरु बहस गरिरहेका छन् । चिया ब्रेकअघि सर्वोच्चका पूर्व न्यायाधीश इश्वर खतिवडाका छोरा अधिवक्ता अपूर्व खतिवडाले बहस सिध्याए । छविलालको पहिला बयान भएकाले उनीबाटै बहस शुरु गरिएको बुझिएको छ । 

आज छविलालको बहस सकिने अवस्था नरहेकाले आइतबारमात्र लामिछानेको पालो आउने सम्भावना छ । उनको तर्फबाट आधा दर्जन बढीले बहस गर्ने तयारी छ । मंगलबारसम्म सबै प्रतिवादीको बहस सक्ने र बुधबार सरकारी वकिलले जवाफी बहस गरेपछि अर्को हप्ता आदेश आउनसक्ने अनुमान गरिएको छ ।

टिप्पणीहरू