नयाँ दिल्ली हुँदै अमेरिकाबाट फर्केकी अभिनेत्रीको आक्रोश : झुर एअर इण्डिया !
अभिनेत्री रिमा विश्वकर्माले भारतीय वायुसेवा कम्पनी एयर इन्डियाको सेवा तथा सुविधाप्रति आक्रोश पोखेकी छन् । अमेरिकादेखि काठमाडौंसम्मको उडानमा कम्पनीका कर्मचारीले सहयोग नगरेको उल्टै रुखो व्यवहार देखाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टी पोखेकी हुन् ।
रिमाले न्युयोर्कबाट ढिलो उडान हुँदा दिल्लीको कनेक्टिङ फ्लाइट छुटेको र कम्पनीका कर्मचारीलाई जानकारी गराए पनि कुनै सहयोग नपाएको उल्लेख गरेकी छन् । नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलस्थित ट्रान्सफर डेस्कमा एक घण्टादेखि प्रतिक्षा गरिरहेको जानकारी दिँदै त्यहिँबाट लेखेको स्टाटसमा भनेकी छन्, ‘तर अहिलेसम्म कुनै स्पष्ट जवाफ र सहयोग पाइएको छैन ।’
त्यस्तै उनले एअर इण्डियाका कर्मचारीले रुखो व्यवहार देखाएको भन्दै गुनासो पनि गरेकी छन् । ‘डेस्कका कर्मचारी गैरव्यवसायिक मात्रै होइनन्, असभ्य पनि रहेछन्’, उनले थपेकी छन् । उडानको क्रममा पनि गुणस्तरहीन खाना दिएको रिमाको भनाई छ ।
लगत्तै सामाजिक सञ्जालमा हालिएको अर्को विवरणमा उनले नयाँ दिल्लीको गुरुग्रामस्थित एक होटलमा गरिएको बासको प्रबन्ध पनि घिनलाग्दो भएको फोटो पोष्ट गरेकी छन् । चार घण्टाको प्रतिक्षापछि नयाँ दिल्लीको गुरुग्रामस्थित साकुरा होटलमा लगेर राखेको तर, बेडको कभरमा रगतको टाटा र महिलाको कपाल छरपष्ट भएको बताइन् ।
उनी अमेरिकामा पहिलोपल्ट आयोजना गरिएको गोल्डेन फिल्म अवार्डका लागि दुई साताअघि अति त्यता गएकी थिइन् । उनीसँगै गएका कतिपय कलाकार फर्किसकेका छन् भने कोही उतै रमाइरहेको बताइन्छ ।
टिप्पणीहरू