भीम रावलको चाहिँ दोषै थिएन त ?
‘जे गर्नु गरिहाले, एकपटकलाई अन्तिम मौका दिऊँ, निश्कासन नै गर्ने निर्णयमा चाहिँ तत्काल नपुगौं ।’ पूर्वउपाध्यक्ष भीम रावललाई कडा कारबाही गर्ने प्रस्ताव बैठकमा केपी ओलीले राखेपछि उनीप्रति नरम देखिएका नेताहरूको भनाइ थियो । यसरी रावलप्रति लचिलो देखिएका नेताहरुको केपी ओलीको हठका अगाडि के नै सुनुवाइ हुन्थ्यो र !
त्यसो त एमालेकै नेताहरू ओलीलाई यो अवस्थामा पुग्ने वातावरण बनाउने कामचाहिँ भीम रावल स्वयंले नै गरेको बताउँछन् । उनीहरूका अनुसार, यो कारबाही रावलका लागि निश्कासनभन्दा पनि निकास नै हो । ती नेताहरू भन्छन्– भीम रावलले पर्याप्त अवसर र सेवा सुविधा हात पारिरहेको अवस्थामा बाउँठिनु जरुरी थिएन । हुन पनि उनी प्रधानमन्त्री र पार्टी अध्यक्षबाहेक अरु सबै तह र स्तरमा पुगिसकेका छन् ।
विगतलाई हेर्ने हो भने ०४६ को आन्दोलनसम्म उतै रहेका भीम रावल कम्बोडियाबाट फर्केको केही दिनमै पार्टी सदस्य हुँदै पाँचौं महाधिवेशनमार्फत केन्द्रीय कमिटीमा पुगिसकेका थिए । तत्कालीन महासचिव मदन भण्डारीले उनलाई यसरी च्याप्दा त्यसैबेला पनि अन्य नेता–कार्यकर्ताबाट असन्तुष्टिको स्वर सुनिएको थियो । उनले सबैभन्दा कनिष्ठ नेता हुँदाहुँदै पनि ०५१ मा पर्यटनमन्त्रीको जिम्मेवारी पाएकै हुन् ।
रावलले आफूलाई ओलीपछिको दर्जा मागेपछि वार्ता स्थगित गर्दै कारबाहीको चरणमा अघि बढ्ने निश्कर्षमा ओली खेमा पुगेको स्रोतको दाबी छ । त्यसो त एमालेकै कतिपय नेता भन्छन्, ‘भीम रावलले महाधिवेशनमा हारिसकेपछि केपी ओलीसमक्ष गएर चुनाव तपाईंले जित्नुभयो, म सहयोग गर्छु भन्न सक्नुपथ्र्यो ।’ तर उनले त्यसो गरेनन् । त्यति मात्र होइन सौराहामै कतिपय शुभचिन्तकले ‘हामी ओलीको शासनमा छौँ । उनले उपाध्यक्ष पद दोहोर्याउन दिने भएका छन् । यो प्रस्ताव मान्नु नै ठीक होला’ भनेर सल्लाह दिँदा त्योसमेत सुनेनन् । केपी ओली हलबाटै उपाध्यक्षमा भीम रावललाई प्रस्ताव गर्ने कुरामा सहमत बनिसकेको स्थितिमा रावलले उनीसँगै अध्यक्ष पदका लागि भिड्नु गलत रहेको उनीहरूको भनाइ छ ।
उनीप्रति नरम कतिपय नेता यस्तो बेलासमेत रवि लामिछाने र दुर्गा प्रसाईंका पक्षमा भीम रावलले बोलेर ठूलै गल्ती गरेको स्वीकार गर्छन् । पहिले नै क्षेत्रीय पार्टीका लागि मानसिकता तयार गरिसकेका रावल फेरि त्यही बाटोमा अघि बढ्ने हुन् या स्थितिको सही मूल्याङ्कन गरेर अर्कै ढंगले जालान् त्यो भने समयले नै बताउनेछ । उनले बुटवल महाधिवेशनमा हारिसकेपछि काठमाडौँ फर्केर कीर्तिपुरमा क्षेत्रीय पार्टी गठनका लागि कसरत गर्दा कार्यकर्ताहरूको साथ पाएका थिएनन् ।
भीम रावलका त्यसै बेलादेखिका हर्कतलाई सम्झँदै एक नेता भन्छन् ‘पार्टी अध्यक्षमा हारेर केन्द्रीय सदस्य जितेका उनले त्यो पद पनि स्वीकार्दिन भनेर घुक्र्याए । माधव नेपालले केन्द्रीय सदस्यको शपथ ग्रहण गर्ने शर्तमा गृहमन्त्रीको जिम्मेवारी दिने भएपछि अघिल्लो दिन शपथ खाएर अर्कोदिन गृहमन्त्री बन्न गए । केपी ओलीले नै उनलाई उपप्रधान र रक्षामन्त्रीसमेत बनाएका हुन् ।’
बैठकमा सरकारको हालको अवस्थाबारे ब्रिफिङ गर्दै ओलीले भारत भ्रमणका लागि आफ्नो तर्फबाट पहल भइरहेको र त्यो सकारात्मक दिशामा अघि बढेको बताएका थिए । सहभागी एक सदस्यका अनुसार केही सम्पर्क सूत्रबाट सकारात्मक कुरा आइरहेको छ भन्ने मात्रै कुरा गरेर उनले उक्त प्रसङ्गलाई टुंग्याएका थिए । सत्ता सहयात्री नेपाली कांग्रेससँग सम्बन्ध राम्रै रहेको र कुनै प्रकारको विमति नरहेको उनको भनाइ थियो ।
टिप्पणीहरू