राजनीति सेवा हो, बाँच्नका लागि आम्दानीको क्षेत्रमा जोडिनैपर्छ : माओवादी संकल्प
नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकले सञ्चार साक्षरता कार्यक्रम सञ्चालनको निर्णय गरेको छ । बदलिँदै समयमा पार्टीलाई अघि बढाउन सामाजिक सञ्जालको प्रयोगबारे नेता तथा कार्यकर्ताहरुलाई जानकारी दिन यस्तो अभियान चलाउने निर्णय गरिएको बताइएको छ ।
अस्तिदेखि शुरु बैठक आज सकिँदैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनउपर धारणा राख्न १८० जना सदस्यले नाम टिपाएका थिए । तीमध्ये अस्ति ४० र हिजो ८० जनाले बोलेका थिए । आज ४० जनाले बोलेपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यतालिका छ ।
कार्यक्रममा बोलेका अधिकांशले सूचना प्रविधिको प्रयोगलाई बढाएर पार्टीलाई रुपान्तरण गर्नुपर्ने धारणा राखेका छन् । एक जना नेताका अनुसार ३२ वर्षे उमेर हदको कारण अखिल क्रान्तिकारीबाट बाहिरिएका विद्यार्थी नेताहरुलाई सञ्चार साक्षरता अभियानको जिम्मेवारी दिइने सम्भावना छ ।
‘पार्टीको विचार, दर्शन, कार्यक्रम, एजेण्डा जति राम्रो भए पनि त्यसको डेलिभरी राम्रो भएन भने अर्थ नहुने धेरै कमरेडहरुको निष्कर्ष छ’, बैठकस्थलबाटै ती नेताले भने, ‘युवा नेताहरु, खासगरी विद्यार्थी संगठनमा नअटाउनु भएका साथीहरुलाई अध्यक्ष कमरेडले पार्टीलाई डिजिटलाइजेसन गर्ने जिम्मेवारी दिने निचोडमा पुग्नुभएको छ, बैठकले आज त्यो प्रस्ताव पारित गर्छ ।’
त्यस्तै, बैठकले पार्टीका नेता तथा कार्यकर्ताहरुहरुको निम्ति एउटा ‘संकल्प’ प्रस्ताव पनि पारित गर्न लागेको बताइन्छ । ‘राजनीति सेवा हो, बाँच्नको लागि सबै नेता तथा कार्यकर्ताहरु कुनै न कुनै आम्दानीको क्षेत्रमा जोडिनुपर्छ’ भन्ने अध्यक्षज्यूको प्रस्तावमा सबै कमरेड संकल्प गर्न तयार हुनुभएको छ’, ती सदस्यले थपे ।
टिप्पणीहरू