प्रचण्डसँग तिक्तता नरहेको शर्माको प्रष्टोक्ति
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो कुनै तिक्तता नरहेको दावी गरेका छन् ।
जारी केन्द्रीय समितिकाे बैठक समापनअघि विशेष समय लिएर बोलेका उनले सिर्जनात्मक विचार-विमर्शलाई ‘तिक्तता’ का रुपमा प्रचार गरिएको भन्दै असन्तुष्टिसमेत जनाए । स्थायी समिति बैठकमा आफूले फरक प्रस्ताव राखेपछि पार्टीको पक्षमा नयाँ सन्देश प्रवाह भएको शर्माको भनाई छ ।
नेतृत्व र अभिभावकको अगाडि कुरा राख्नु एउटा नेताको कर्तव्य हुने तर्क गर्दै उनले भने, ‘पार्टीलाई एउटा बहस, एउटा छलफलबाट नयाँ उचाईमा पुर्याउन हामी सबैले भूमिका खेल्नुपर्छ । मैले फरक प्रस्ताव राखेपछि बहस र छलफल यहाँसम्म आएको छ । हाम्रो पार्टीमा बोल्न पाइन्छ, बहस गर्न पाइन्छ भन्ने कुरा स्थापित भएको छ ।’
पूर्व अर्थमन्त्रीसमेत रहेका शर्माले असोजमा विशेष महाधिवेशन गर्न प्रस्ताव पनि राखेका छन् । साउनसम्म दस्तावेज तयार पार्न समय पर्याप्त हुने बताउँदै थपे, ‘असोज आसपासमा विशेष महाधिवेशन गर्ने मिति घोषणा गरौँ । अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरौँ ।’
उनले अध्यक्ष प्रचण्डको प्रतिवेदनप्रति समर्थनसमेत जनाएका छन् ।
टिप्पणीहरू