यसरी भयो विद्युत आयातको सट्टा निर्यात
सरकारले स्पष्टीकरण सोधेपछि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफ्नो कार्यसम्पादन विवरण पेश गरेका छन् । उनले गत आर्थिक वर्ष २०८०–८१ मा आफुले सम्पन्न गरेको कार्यविवरण आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश गरेका हुन् ।
गोप्य र अत्यन्त जरुरी पत्र भन्दै गत सोमबार साँझ ऊर्जा मन्त्रालयले उनलाई पत्र थमाएको थियो । नौ बुँदे पत्रमा घिसिङलाई कार्यकारी प्रमुखको हैसियत भुलेर पटक पटक असहयोगी भूमिका खेल्ने गरेको, सामान्य विषयवस्तुमा समेत विवाद गर्ने गरेको र पदीय मर्यादा विपरितका कार्यहरु गरेको आरोप लगाइएको छ ।
यसअघि गत मंसिर ४ गते पत्रमार्फत् सोधिएको कार्यसम्पादन विवरण समेत उनले पेश नगरेको जनाउँदै मन्त्रालयले यस पटक सात दिनभित्र जवाफ नआएमा कानुनबमोजिम थप प्रक्रिया अगाडि बढाइने बताएको थियो । स्पष्टीकरण पत्र थमाएको चार दिनपछि आज घिसिङले मन्त्रालयमा कार्यसम्पादन विवरण पेश गर्दै ९८ दशमलब ९९ प्रतिशत अङ्क दाबी गरेका हुन् ।
आफ्नो कार्यकालमा प्राधिकरणको वित्तीय अवस्थामा सुधार आउनुका साथै मुलुक लोडसेडिङमुक्त भएर नियमित रुपमा विद्युत आपूर्ति हुन थालेको र आम उपभोक्तालाई विश्वसनीय एवं गुणस्तरीय विद्युत आपूर्तिका लागि प्रणालीको पूर्वाधार विस्तार, सुधार एवम् प्रविधिमार्फत स्वचालित गर्ने कार्यलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको कुलमानको दाबी छ ।
२०७८ साउन २५ गतेको क्याबिनेट बैठकले उनलाई प्राधिकरणको प्रबन्ध निर्देशकमा चार वर्षका लागि दोस्रो पटक नियुक्त गरेको थियो । सोही आधारमा मन्त्रालय र घिसिङबीच २०७८ माघ ५ गते प्राधिकरण सुधारका विभिन्न सूचकाङ्कसहित कार्यसम्पादन सम्झौता भयो ।
ऊर्जा मन्त्रालयबाट आव २०७८–७९ र २०७९–८० मा प्रबन्ध निर्देशक घिसिङले गरेको कार्यसम्पादनमा क्रमशः ९४ दशमलब २३ प्रतिशत र ९८ दशमलब ९४ प्रतिशत अङ्क प्राप्त भएको थियो । कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा प्राप्ताङ्कका आधारमा घिसिङले प्रोत्साहन भत्ता पाउने व्यवस्था छ ।
प्राधिकरणले गत आवमा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो । आव २०७२–७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण ०७३–७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै नाफाको इतिहास शुरु भएको थियो । त्यसपछि प्राधिकरण निरन्तर नाफामा छ ।
आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । प्राधिकरणले गत आवमा प्रणालीको विद्युत् चुहावट करिव १२ दशमलव ७३ प्रतिशतमा झारेको थियो । आठ वर्ष अघिसम्म प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत विद्युत चुहावट भइरहेको थियो ।
आव २०७९–८० मा विद्युत चुहावट १३ दशमलब ४६ प्रतिशत थियो । प्राधिकरणले पछिल्लो आठ वर्षमा विद्युतीकरणमा ठूलो सफलता हात पारेको छ । आव २०७२–७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षअघि ८९ दशमलब ७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ ।
प्रबन्ध निर्देशक घिसिङको नेतृत्वमा प्राधिकरणले वित्तीय अवस्थामा थप सुधारसँगै संस्थाभित्र सुशासन, विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय एवम् सुरक्षित बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विस्तार एवम् सुदृढीकरण, उत्पादनतर्फका ठूला जलविद्युत आयोजना अगाडि बढाउने, आन्तरिक रुपमा खपत बृद्धि तथा अतिरिक्त भएको विद्युत् निर्यात लगायतलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाएको छ ।
कुलमानकै कार्यकालमा मुलुक लोडसेडिङमुक्त भएर नियमित रुपमा विद्युत आपूर्ति हुन थालेपछि प्रणालीमा उत्पन्न भएको चुनौतीलाई सम्बोधन गर्न र आम उपभोक्तालाई विश्वसनीय र गुणस्तरीय विद्युत आपूर्तिका लागि प्रणालीको पूर्वाधार विस्तार, सुधार एवम् प्रविधिमार्फत स्वःचालित गर्ने कार्यलाई समेत विशेष प्राथमिकताका साथ अगाडि बढाइएको छ ।
इक्रा नेपालले गरेको क्रेडिट रेटिङ्मा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको छ । यसबाट प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग बहन गर्न सक्ने क्षमतामा देखिएको छ । गत आवको वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत भारततर्फ निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरिएको थियो ।
सोही वर्ष आयातभन्दा करिब १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत आयातकर्ताबाट नेपाल खुद विद्युत निर्यातकर्ता बनेर इतिहास बनाउन सफल भएको हो । प्राधिकरणले प्रसारण तथा वितरण लाइन, सबस्टेसन निर्माणमा पनि ठूलो सफलता हासिल गरेको छ ।
टिप्पणीहरू