प्रधानमन्त्री सेल्फी खिच्न कस्सिएपछिको अर्थ बेग्लै

प्रधानमन्त्री सेल्फी खिच्न कस्सिएपछिको अर्थ बेग्लै

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जे भन्नुहुन्छ, ठीक त्यसको उल्टो गर्नुहुन्छ’ भन्ने भाष्य नागरिकमा स्थापित हुँदै गएको छ । गत असार १७ गते बिहान तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग ‘सँगै स्वर्ग÷नर्क जाने’ कसम खाएर सोही मध्यराती नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सात बुँदे सहमति गरेको घटना होस्, वा ‘भ्रष्टाचारीको मुख हेर्दिनँ’ भन्दै ठीक विपरितका घटनासँग जोडिएको विषय होओस् ।

प्रधानमन्त्री ओलीले विभिन्न यौन काण्डमा संलग्न आफ्ना नेताहरुलाई ‘मोजमस्ती गर्ने भए बाटो खुल्ला छ’ भन्दै पार्टीबाट किष्कासन गर्ने चेतावनी दिएको पनि धेरै भएको छैन । तर यतिबेला उहाँ आफै त्यस्ता नेतासँग नजिकिनुभएको पाइएको छ । जसलाई कारवाही गर्ने चेतावनी दिनुभएको थियो, उनीहरूलाई समीपमा राख्न थाल्नुभएको हो । 

पार्टी निकट अनेरास्ववियुले हिजो आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओली र ऐन महर निकै नजिक देखिनुभयो । महर उनै व्यक्ति हुन्, जसमाथि रश्मिला धामीले यौन शोषण र दुर्व्यवहारको आरोप लगाउँदै आएकी छन् । पार्टी कारवाहीमा परेर पुनः केन्द्रीय सदस्य मनोनीत भएका महरसँग पार्टीका अन्य नेताहरुले हाल दूरी कायम गरेको बताइन्छ । यस्तो अवस्थामा प्रधानमन्त्री ओली भने हिजोको कार्यक्रममा महरसँग गफिनुभएको हो । एक प्रत्यक्षदर्शीका अनुसार प्रधानमन्त्री ओलीले आफैं ‘खै मोबाइल ल्याउनुस् त’ भन्दै सेल्फीसमेत खिच्नुभएको थियो । 

यसअघि महर जस्तै पार्टीमा काण्डसँग जोडिएका महेश बस्नेत, गुलाबजंग शाह, सुरत शाही, सुनिता बराललगायतका नेताहरुसँग प्रधानमन्त्री ओली टाढै रहन खोजेको चर्चा चलेको थियो । तर हिजोको सामिप्यता र सेल्फीले भने प्रधानमन्त्री ओलीको मन पग्लेको हुनसक्ने पार्टीकै एक नेताको अनुमान छ । उनी भन्छन्, ‘पहिले उनीहरु (बस्नेत, बराल, महर, शाह)लाई ट्रयाकमा ल्याउने भन्नुहुन्थ्यो । अब उनीहरु ट्रयाकमा आएका हुन् कि अध्यक्षज्यू उनीहरूकै ट्रयाकमा जानुभएको हो, त्यो उहाँहरुलाई नै थाहा होला ।’

टिप्पणीहरू