किन झोक्किइन् ज्योति मगर ?
आफूलाई लागेको विचार निर्धक्कसँग राख्ने गायिका हुन्, ज्योति मगर । कतिपयले अशोभनीय प्रस्तुती दिने गरेको आरोप लगाए पनि ज्योतिले त्यसप्रकारको टिप्पणीलाई पनि सजिलै पचाएको देखिन्छ । केही समयअघि एक कार्यक्रममा भनेकी थिइन्, ‘जसले मेरो अश्लिलतालाई गाली गर्छ, बन्द कोठामा गएर उसैले थुक निल्छ ।’
उनै ज्योतीले द्विअर्थी लाग्ने गीतको विषयलाई लिएर यतिबेला राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमाथि गम्भीर प्रश्न उठाएकी छन् । उनले फेसबुकमा ‘आज के साम, सो कल्ड आदर्शवादीके नाम’ भन्दै प्रतिष्ठानमाथि असन्तुष्टी पोखेकी हुन् ।
खासमा गत भदौमा गायिका शान्तिश्री परियारले ‘विस्ताराले पोल्यो’ बोलको तीज गीत ल्याएकी थिइन् । त्यतिबेला गीतमा प्रयोग भएको ‘काले के के बोल्यो बोल्यो, मलाइ बिस्तारा ले पोल्यो’ भन्ने शब्द द्विअर्थी लाग्ने भन्दै भिडियो प्रचार प्रसारमा प्रतिबन्ध लगाइएको थियो । उक्त गीतको प्रचार प्रसार नगर्न/नगराउन भन्दै प्रतिष्ठानले विज्ञप्ति नै निकाल्यो ।
हिजो फेरि गायिका शान्ता रानी परियारको गीत ‘म त ढलेँ ढलेँ’ को सक्सेस पार्टीमा प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर उपस्थित भएर केक काटिन् । गीतले पाँच करोड भ्युज पाएको खुशियालीमा पत्रकार सम्मेलन गरेर निर्माण टिमले सेलिब्रेसन गरेको थियो । सेलिब्रेसनमा प्रतिष्ठानकी अध्यक्ष मगरले गीतको प्रशंसा गरेर थाकिनन् । जबकि, यस गीतमा पनि ‘सबै कुरा खोलम कि नाई, मलाई पल्लारे साइँलो ले..ए म ढलेँ ढलेँ’ भन्ने शब्दले द्विअर्थी लाग्ने भन्दै भाषाविद्हरुले आपत्ति जनाइरहेका छन् । गीतको शब्द बुझेका अधिकांश दर्शकले प्रश्न उठाएको देखिन्छ । भने, धेरैले यसको लयकै भरमा भिडियो रिल्स बनाएको देखिन्छ ।
यसरी प्रतिष्ठानको नेतृत्वले गीतमा प्रयोग भएका द्विअर्थी शब्दलाई लिएर कलाकारमाथि विभेद गरेपछि ज्योतीले आक्रोश पोखेकी हुन् । उनले भनेकी छन्, ‘विस्तारले पोल्यो भन्ने गीतलाई संस्कृति भड्काउने गीत भन्दै उफ्रने दोहोरी गीत प्रतिष्ठान, मलाई पल्ला घरे साइँलाले...गीतको सक्सेस पार्टीमा केक काट्नुलाई के भन्नुहुन्छ ?’
टिप्पणीहरू