रविले स्वर्णलक्ष्मीको पौने ६ करोड ठगेको दावी
काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान शुरु भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा अहिले बयान चलिरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार छुटेका उनी शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भनिएको थियो । तर, सडकमार्ग हुँदै आएका उनी आज आफैँ अदालतमा हाजिर भएका हुन् ।
उक्त सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले रविसहित जिबी राई, छविलाल बन्जाडेलगायत ३९ जनालाई प्रतिवादी बनाउँदै पुस २१ गते सहकारी ठगी र संगठित अपराधको कसूरमा मुद्दा दायर गरेको थियो । रवि प्रवन्ध निर्देशक रहँदाका बखत स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा कानुनविपरीत ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
सरकारी वकिलले ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरेको छ ।
रुपन्देहीको सुप्रिम, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेका रविविरुद्ध काठमाडौँपछि ति जिल्लामा क्रमश: मुद्दा चलाउने सरकारको तयारी छ ।
टिप्पणीहरू